टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने

काठमाडौँ, साउन ७ । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।

  • ग्राहकको होइन, विदेशी च्यानलको शुल्क बढाइएको होः सरकार
  • निःशुल्क प्रसारण भइरहेका ५० देखि ६० च्यानल बन्द हुन सक्ने
  • ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने
  • नयाँ शुल्कले टेलिभिजन हेराइ महँगो हुन्छः व्यवसायी

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

डाउनलिंक भन्नाले विदेशी च्यानल नेपालमा प्रसारणका लागि स्वीकृति लिने प्रक्रिया हो ।

यो प्रक्रियाका लागि यसअघि ५० हजार रूपैंया पर्ने शुल्क बढाएर सरकारले सात लाखसम्म पुर्‍याएको छ । बढेको यो शुल्कको प्रत्यक्ष प्रभाव नेपालमा टेलिभिजन हेर्ने ग्राहकमा पर्ने व्यवसायीले बताएका छन् । सरकारले भने टेलिभिजन हेराइ महँगो नहुने दाबी गरेको छ ।

मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ को अनुसूची पाँच(ख) को क्रमसंख्या ४क. मा रहेको निःशुल्क वा विज्ञापन समावेश नभएको सःशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्नका लागि प्रतिच्यानल २५ हजार लाग्ने निर्णयलाई परिवर्तन गरी अबदेखि एक लाख रूपैंया लाग्ने उल्लेख गरेको छ ।

यसका अतिरिक्त उक्त अनुसूचीमा क्रम संख्या थप गर्दै सरकारले ४ क१ मा विज्ञापन समावेश भएका निःशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रूपैंया लाग्ने जनाएको छ । यसले अहिले नेपालमा निःशुल्क रूपमा आइरहेका अलजजिरा, स्टार उत्सव, दंगल, धमाल इन्टरटेन्मेन्ट मुभिज, महाँ मुभिज लगायतका च्यानल बन्द हुन सक्ने डिस मिडिया नेटवर्कका महाप्रबन्धक कल्याण अधिकारी बताउँछन् ।

‘सरकारको यस्तो निर्णयपछि नेपालमा अहिले प्रसारण भइरहेका ५० देखि ६० च्यानललाई असर पर्नेछ’, अधिकारीले भने, ‘उक्त च्यानलहरूले डाउनलिंकका लागि यो शुल्क नतिरेमा यी टेलिभिजन बन्द हुनेछन् । यसले अबको दिनमा हामीले हेर्दै आएको च्यानलको संख्यामा उल्लेख्य रूपमा कमी आउने छ ।’

अधिकारीका अनुसार अहिले फ्रि च्यानलसहितको प्याकेज बनाएर जुन मूल्यमा ग्राहकले सेवा पाइरहेका छन्, फ्रि च्यानल आएनन् भने सोही मूल्यमा ग्राहकले अहिलेकै मूल्यमा धेरै च्यानल हेर्न पाउने छैनन् ।

साथै सरकारले ४ क२ मा विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल तीन लाख रूपैंया लाग्ने उल्लेख गरिएको छ । त्यस्तै पुरानो अनुसुची ४ को ख लाई पनि परिवर्तन गरिएको छ । पहिले विज्ञापन समावेश भएको सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल ५० हजार शुल्क लाग्ने गरेकामा त्यसमा पनि शुल्क वृद्धि भएको छ । अब विज्ञापन समावेश भएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल सात लाख शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

डाउनलिंकका लागि तोकेको नयाँ शुल्कका कारण नेपाली टेलिभिजन च्यालनका ग्राहक मारमा पर्ने व्यवसायी बताउँछन् । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष तथा डिजिटल सिस्टम अफ नेपालका प्रबन्ध निर्देशक ध्रुव शर्माका अनुसार सरकाले तोकेको नयाँ शुल्कले टेलिभिजन हेराइ नै महंगो पर्ने बताए ।

‘यसको असर अबको केही समयभित्रै देखिन्छ’, शर्माले भने, ‘डाउनलिंक भनेको विदेशी च्यानलले नेपालमा आफ्नो च्यानल प्रसारणका लागि स्वीकृत लिने प्रक्रिया हो । यो शुल्क विदेशी च्यानलले नै बुझाउने गरेका छन् । च्यानल आफैले सरकारलाई शुल्क बुझाए तापनि त्यसको प्रत्यक्ष प्रभाव भने यहाँ पनि पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *