सेती नदीमा फालिएका बच्चाको यसरी भयो पुनः जन्म

काठमाडौँ, साउन ७ । असारको १ गते सेती नदीमा हाम फालेको घटनामा बाँचेका ८ वर्षका सुरेन्द्र बोहरा भाग्यले बाँचेका खुलेको छ । उनलाई सेती नदीमा माछा मारिरहेका ६० वर्षका धनबहादुर विकले आफ्नो नाति सम्झेर जोखिम मोल्दै नदी बीचबाट उद्धार गरेको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।

असार १ गते डोटीको आदर्श गाँउपालिका बडा नं। ४ बस्ने बम वहादुर बोहराकी श्रीमती धौली बोहराले आफ्ना तीन सन्तानसहित सेती नदीमा हामफालेकी थिइन ।

बाँचेका सुरेन्द्रले बताए अनुसार सबैभन्दा पहिला धौलीले १२ वर्षकी छोरी राधिकाको हात समातेर सेतीमा फालेकी थिइन् । त्यसपछि सुरेन्द्रलाई फालेकी उनले अन्तमा ६ वर्षको छोरा सुनिललाई पिठ्युमा बाँधेर हामफालेको वडाअध्यक्ष पछेराले बताए ।

अर्को गाउँका ६० वर्षीय मानबहादुर आफ्नो नातिलाई लगेर १ गते दिउँसो सेतीमा माछा मार्न गएका थिए । नदीमा जाल हान्ने क्रममा उनी नाति बसाएको स्थानबाट सय–डेढ सय मिटर टाढा पुगेका के थिए, नाती जस्तै देखिने बालक (त्यो वीरेन्द्र थियो) नदीमा डुब्दै उत्रिँदै गरेको देखे ।

मानबहादुर नाति नदीमा बगेको भन्ठानेर जोखिम मोलेर सेतीमा कुदे । उनले बगिरहेका बालक समातेर बाहिर ल्याए तर ऊ वीरेन्द्र थियो भने उनको नाति बसाएकै स्थानमा थिए । त्यसपछि वीरेन्द्र नदीमा डुबेको बारेमा सोधपुछ भएको थियो । मानवबहादुरको भनाइ उदृध गर्दै वडा अध्यक्ष पछेराले भने, ‘त्यसपछि थाहा भयो की सेतीमा धौली र उनका दुई सन्तान बगिसकेका छन् भनेर ।’

मानबहादुरले वडाअध्यक्ष पछेरालाई फोन गरेर फेला परेका बालकबारेमा जानकारी गराए । अनि २ गते मात्रै गाउँलेले सेतीमा धौलीसहित उनका सन्तानको खोजी सुरु गरे । घटना ढिलोगरी साउन ४ गते मात्रै प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रहरीले सबै बच्चासहित नदीमा हाम फाल्नुको कारण पत्ता नलागेको जनाएको छ । धौलीकी जेठी छोरी राधिका त गाईगोरु चराउन बिहानै वनतिर गइसकेकी थिइन् । श्रीमानलाई बच्चाको उपचारका लागि स्वास्थ्य चौकी जान्छु भनेर हिँडेकी धौलीले बनमा गाई गोरु चराउन गएकी राधिकालाई पनि मामाको घर आँप खान जाने भनेर बोलाएको स्थानीयले बताएका छन ।

धौलीका श्रीमान् बमबहादुरले गाई गोरु घर आईसकेको र छोरी राधीका नआएपछि सोधपुछ गर्दा आमाले आँप खुवाउन बोलाएको भनेर खुलेको प्रहरीलाई बयान दिएका छन । माइती पक्षले पनि केही महिनायता धौलीको मानसिक अवस्थामा केही गडबड भएको प्रहरीलाई बयान दिएको डिएसपी धामीले बताए ।

भारतमा काम गरिरहेका श्रीमान बमबहादुरले आफू र बच्चा बिरामी छन भनेर फोन गरेकाले आफू घर आएको प्रहरीलाई बताएका छन । प्रहरीले बमबहादुर, उनकी सासु लगायत स्थानीयसँग सोधपुछ गर्दा नदीमा हाम फालेर आत्महत्या गर्नुको खासै कारण फेला नपरेको जनाएको छ ।

तर प्रहरीले नदीबाट उद्धार गरिएका बालक सुरेन्द्रलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाएर उनको बयानका आधारमा अनुसन्धान केन्द्रित पार्ने जनाएको छ । ‘हामीले उद्धार गरिएका ८ वर्षीय सुरेन्द्रलाई ल्याउन भनेका छौं’, डिएसपी लालबहादुर धामीले भने, ‘त्यसपछि केही कुरा खुल्न सक्छ ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *