रोजगारी दिन नसके सरकारले १२० दिनको आधा तलब दिने

काठमाडौँ, साउन ६ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको खाका तयार पारेको छ ।

मन्त्रालयले तयार पारेको खाका अनुसार चाँडै सबै स्थानिय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेर बेरोजगारको तथ्यांक संकलन गर्न थालिने र उनीहरुलाई दिन सकिने रोजगारीका क्षेत्रको पहिचान गरिने मन्त्रालयले जनाएको छ ।

बेरोजगार युवाको तथ्यांक संकलन गरिसकेपछि उनीहरुका लागि रोजगारीका कार्यक्रम सञ्चालन गरिने श्रम मन्त्रालयको योजना छ ।

बेरोजगार व्यक्ति र परिवारको पहिचान गरी वार्षिक रुपमा न्युनतम १ सय २० दिन कम्तिमा एउटा परिवारको एक जनालाई रोजगारी दिन नसके १२० दिनको आधा तलब परिवारको एक जनालाई निवार्नह भत्ताका रुपमा प्रदान गर्ने सरकारले योजना ल्याएको छ ।

यसरी दिने रोजगारीमा सरकारले तोकेको न्युनतम पारिश्रमिक र जिल्लाको दररेट अनुसार जुन बढी हुन्छ त्यसअनुसार पारिश्रमिक दिने गरी मन्त्रालयले योजना ल्याएको छ ।

बेरोजगारको विवरण दर्ता गरीसकेपछि पहिचान भएका बेरोजगारलाई श्रमिक कार्डसहित तोकिएको योजनामा सरकारले खटाउने छ । प्रमाणित कागजात र दैनिक हाजिरिको आधारमा बैंक खाता मार्फत तलब भुक्तानी गरिनेछ ।

यस्ता छन् सम्भावित कामः

कृषि तथा पशु विकास मन्त्रालय अन्तरगत शीत भण्डार निर्माण, परम्परागत र प्लास्टिक पोखरी, कृषि उपजको संकलन तथा बेचबिखन केन्द्र निर्माण तथा पर्ति जग्गामा खेति गर्नुपर्ने छ ।

– उर्जा तथा सिंचाई अन्तरगत कुलो निर्माण, बाँध निर्माण, पैनी तथा नहर निर्माण तथा मर्मत संभार र जलविद्युत आयोजनामा काम गर्नुपर्ने छ ।

– खानेपानी मुहान संरक्षण, पाइप बिछ्याउने, ट्यांकी निर्माण धारा निर्माण तथा सरसफाई शौचालय निर्माण, कवाडी सामान संकलन, प्रसोधन तथा व्यवस्थापनका क्षेत्रमा रोजगारी पाइने छ ।

– नदी नियन्त्रण सम्बन्धि कार्यहरु, वन तथा वातावरण अन्तरगत खाली जग्गामा फलफुलका बिरुवा रोप्ने, सडकको दायाँ बायाँ वृक्षारोपण, गैरकाष्टजन्य उत्पादन व्यवसायीक बिरुवा रोपण तथा जडिबुटी खेतीमा रोजगारी पाइने छ ।

– पर्यटन प्रवद्र्धन अन्तरगत पदमार्ग निर्माण तथा होटल रेष्टुरेण्ट व्यवसायको प्रवद्र्धन, पर्यटन मार्गमा सेड निर्माण र मर्मत सम्भारको क्षत्रमा रोजगारी दिन सकिने सरकारले सम्भाव्यतामा राखेको छ ।

– सडक, बसपार्क, पुलपुलेसा निर्माण र मर्मत सम्भारको काम गर्नुपर्ने छ ।

– विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी निर्माण तथा मर्मतको काममा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतकै श्रमिक खटाउने सरकारको तयारी छ ।

– खेल मैदान, कवर्ड हल र स्टेडियम निर्माण

– सार्वजनिक र निजी भवन निर्माण पुरातात्वीक सम्पदाको पनर्निर्माण

– पुस्तकालय/वाचनालय, जेष्ठ नागरिक क्लव, सामुदायीक भवन निर्माण तथा मर्मत सम्भारका काममा पनि सरकारले खटाउन सक्ने छ ।

– ठूला तथा राष्ट्रिय गौरवका आयोजनामा पनि सरकारले बेरोजगार युवालाई खटाउने योजना बनाएको छ । यस अन्तरगत माटोको काम, ग्याबियन वाल, ढुंगा कुद्ने, नालि बनाउने जस्ता काममा खटाउने सरकारको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *