ओली सरकार घमण्डको टोपी लगाउने अर्को राजाः सिजन गुरुङ

“
काठमाडौं, साउन ६ । नेपाल तरुण दलले वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार नयाँ बानेश्वरमा गरिएको प्रर्दशनका क्रममा संगठनका अध्यक्ष जितजंग बस्नेतसहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको भन्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रर्दशन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङले हिजोको शान्तीपूर्ण आन्दोलनमा प्रहरीद्धारा गरेको धरपकडको जिम्मा केपी ओली सरकारले लिनुपर्ने तथा घाइतेहरुको उपचार गर्नुपर्ने बताए । उनले तरुणहरुको रगतको एक एक थोपाको हिसाब केपी ओली सरकारले बुझाउनु पर्ने चेतावनी दिए ।
‘शान्तीपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप गरेर तानाशाही लाद्ने काम गरेको छ । जनतामाथि गरेको ज्यादतीको तरुण दल घोर भत्सर्ना गर्दछ ’ उनले भने ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङले ओली सरकारको कदमको चर्को आलोचना गर्दै भने, ‘हिरामोती जडित राजालाई त ठेगान लगाइ सकिएको अवस्थामा अहंकार र घमण्ड जडित टोपी लगाउने अर्को राजाको जन्म भएको छ । त्यसलाई पनि जनताले ठेगान लगाउने बेला आएको छ ।’
सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।
प्रर्दशनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ ।
“








