“
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन निर्देशन दिएका छन् ।
संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले डा. केसीको माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न तथा कम्युनिष्टसँग लड्नका लागि आफ्ना नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिएका हुन् ।
कार्यक्रममा चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताउँदै उनले भने ‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ । यही हो आज विपि कोइराला प्रतिको श्रद्धाञ्जली ।’
शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।
“