जनता भन्दा ठूला हुन् डा. गोविन्द केसी ?

काठमाडौँ, साउन ६ । चिकित्सा क्षेत्रका जायज मागहरु भन्दै १६ औं पटकसम्म अनसन बसिरहेका डाक्टर गोविन्द केशीका धेरै नै समर्थक थिए पहिले । तर अहिलेको अवस्थामा भने केशीका समर्थक मात्र छैनन्, विरोधी पनि छन् ।

डाक्टर केशीको अनुसनले अहिले राजनीतिक रुप लिइसकेको छ । शुक्रबार मात्र डाक्टर केशीको समर्थनमा भनी देशभरका सबै अस्पतालहरु बन्द गरिएका थिए । उक्त क्रियाकलापबाट झनै डाक्टर केशीप्रति आम जनताको धारणामा नै परिवर्तन आइसकेको छ ।

शुक्रबार मोरङ जिल्ला लेटाङ नगरपालिका बस्ने दुर्गा लम्सालले आफ्नो ११ महिने छोरा कास्मिरलाई निमोनिया भएको भनी विराटनगरको एक अस्पतालमा पुर्याइन् । तर अस्पतालका सबै सेवा बन्द भएका कारण सामान्य उपचार समेत नपाएका कास्मिरको आज बिहान मृत्यु भयो ।

आज कास्मिरको मृत्युले सामाजिक सञ्जालहरुमा ठूलो स्थान पाएको छ । उनको मृत्युको विषयलाई लिएर रामहरी दाहाल सामाजिक सञ्जालमा यसरी लेख्छन्, ‘डा. केसी तथा अन्य डाक्टरहरुलाई अब त सन्तुष्टि भयो होला नि ? उपचार गराउने अस्पतालजस्तो संवेदनशील ठाउँ बन्द हुँदा समेत कानमा तेल हालेर किन बसिरहेको छ यो सरकार ? यो बच्चा लगायत यस्ता सयौं मान्छेहरुलाई मृत्युवरण गराउन बाध्य गराउने यो विरताको श्रेय कस्ले लिने ?’ यस्तै चर्चा तथा परिचर्चा अहिले सामाजिक सञ्जाललाई नै तताइरहेको छ ।

केही दिन अघि मात्र एकजना युवतीले यभिन्युज टेलिभिजनमा यसरी अन्तर्वार्ता दिएकी थिइन्, ‘नाम लेखाएर आमालाई भर्ना त गरियो, पेट दुख्यो मात्र भन्नुहुन्छ । आउनुहुन्न भने भनिदिएको भए हुन्थ्यो । हामी अन्तै लगेर उपचार गराउँथ्यौं । हरेकका छोराछोरी टुहुरा नहुन् । हाम्रो बुवा हुनुहुन्न तर हाम्रो आमाबिना हाम्रो कोही छैन । डाक्टरहरु धेरै लापरबाही गर्छन् । हामीजस्तो अनुपढलाई धेरै हेला गर्छन् । बाबुआमाबिनाको छोराछोरीको जिन्दगी के होला त्यो बुझिदिन डाक्टरहरुलाई अनुरोध गर्छु ।’

युवतीको चित्कारयुक्त यो भिडियोले पनि सामाजिक सञ्जाललाई निकै तताएको थियो । बिरामीका आफन्तहरु अस्पतालमा ठूलो आस बोकेर उपचारका लागि पुगेका हुन्छन् । तर समयमा नै उपचार नपाउँदा बिरामीको मृत्युले परिवारले आफन्त त गुमाउँछन् नै, त्यसबाट उनीहरुमा चिकित्सा क्षेत्रप्रति नै नकारात्मक धारणाको विकास हुने गर्दछ ।

डा. केशी समर्थनमा काँग्रेस निकट तरुण दलले शनिबार बबरमहलदेखि नयाँबानेश्वरसम्म तनावग्रस्त बनाएको थियो । डाक्टर केशीको मागहरु सम्बोधन हुनुपर्ने माग राख्दै उक्त क्षेत्रमा बन्द सहित सयौं कार्यकर्तासहित सभाको आयोजना गरी आन्दोलन समेत गरेको थियो ।

आन्दोलनका क्रममा एक महिलाले प्रहरीसँग आक्रोसित भएको तस्बिरले अहिले निकै चर्चा पाउन थालेको छ ।

शनिबार शंखमुलकी रोमी प्रधान भन्दै थिइन्, ‘म पनि काँग्रेस हुँ अनि गोविन्द केशी पनि । तर जायज मागहरु भन्दै पटक पटक अनुसन बस्नु त राम्रो होइन नि ? उनकै समर्थनमा कहिले अस्पतालका सबै सेवा बन्द गरिन्छ त आन्दोलन । सबै जनताभन्दा ठूला त डाक्टर केशी होइनन् नि !’

प्रधानले भनिन्, ‘अहिले उनी अनुसनमा बस्नु भन्दा आफ्नो कार्यक्षेत्रमा फर्कनु नै उचित हुन्छ ।’ सधैं डाक्टर केशीका जायज मागह? मात्र नहुन सक्छन् । उनी पनि त एक मानिस नै त हुन् । उनीबाट पनि कहिलेकाहीँ गल्ती त हुन सक्छ नै । स्वास्थ्य सेवा ठप्प रहँदा कयौं बिरामीले उपचार नपाउँदाको जिम्मा सरकार कि डाक्टर केशीको ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *