प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको ३६ औं स्मृति दिवस अाज मनाइँदै

काठमाडौँ, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस  साउन ६ गते विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

राणाशासनविरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै  रहे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालका विचारमा बी.पी. कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको मूर्धन्य नेता थिए । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गर्नुभएको र २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरे ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा लोकतन्त्र (प्रजातन्त्र) प्राप्तिपछि पनि त्यसको विकास, विस्तार र संस्थागत गर्ने काममा बीपी कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए । बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर (के.बी.) गुरुङले कांग्रेसले सत्तामा हुँदा बी.पी. लाई बिर्सने गरेको र सत्ताभन्दा बाहिर रहँदा उहाँको तस्बिरमा फूलमाला चढाउने कार्य मात्रै गरेको बताए ।

बी.पी.लाई राजा महेन्द्रले आठ वर्षसम्म जेलमा राख्दा पनि पछि बी.पी.ले राजासँग राखेको सम्बन्ध, नेपालमाथि विदेशीले हस्तक्षेप गर्दा बी.पी.ले लिएको अडानको चर्चा अहिले किन हुनसक्दैन भनी प्रश्न गरे ।।

डा. सूर्यमणि अधिकारीद्वारा लिखित नेपाली कांग्रेसको इतिहासमा बी.पी. कोइरालाको नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो । राणाकालीन शोषणको सबैभन्दा बलियो जग बिर्ता प्रथा थियो । देशको कृषियोग्य भूमिको करिब ३६ प्रतिशत विर्तावालहरुको अधिनमा थियो ।

तराईमा बीरशम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरको परिवारको नाममा मात्रै तीनलाख ६३ हजार ३६९ विगाहा जमिन विर्ताको रूपमा थियो । ठूला विर्तावालहरुले सरकारलाई कर नबुझाई मोहीबाट प्राप्त कुतले यश आरामको जिन्दगी चलाइरहेका थिए ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका बीपी कोइरालाको वि.सं. २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । वि.सं. २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरी बी.पी. कोइरालासहित अन्य नेताहरूलाई जेलमा राख्ने काम भयो । बी.पी. ले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा जीवन बिताएका थिए ।

नेपाली राजनीतिका साथै साहित्यलेखनमा क्रियाशील रहनुभएका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् । ‘दोषी चश्मा र श्वेतभैरवी’ कथा सङ्ग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।

भारतीयको स्वतन्त्रता सङ्ग्राममा सहभागी हुँदा बीपी त्यहाँ पनि जेल परेका थिए । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता नेतासँग भारतीय नेताहरूसँग बी.पी.को निकट सम्बन्ध थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर भएको ठहर गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किए। उनलाई सिधै जेलमा राखिएको थियो । त्यतिबेला उनले दिएकाे ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ विवादमा पनि परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *