गर्मी बढेसँगै अस्पतालमा विरामीको चाप

साउन ९, चन्द्रनिगाहपुर । केहि दिन यता रौतहटमा गर्मी अत्याधिक बढेको छ । गर्मीका कारण लाग्ने विभीन्न रोगहरूका कारण स्वास्थ्य संस्थाहरूमा विरामीहरूको भिड लाग्न थालेको छ । अत्याधिक गर्मीका कारण गत मंगलबार रौतहटमा एक महिलाको मृत्यु समेत भएको थियो । खेतमा काम गरिरहेका मजदुरका लागि खाजा लिएर गइरहेकी गढीमाई गाउँपालिका ४ संग्रामपुर पर्साकी करिब ५८ वर्षीया जमुना देवीको चर्को घामले बेहोस भएपछि मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

मंगलवार दिउँसो करिब साढे १२ बजे घरबाट खाजा लिएर निस्कदा चर्को घाम लागिरहेका थियो । घामले बेहोस भएर ढलेकी उनलाई नजिकैको स्वास्थ्य चौकीमा पु¥याउँदा स्वास्थ्य चौकीका प्रमुख अहेव वीरेन्द्र झाले मृत घोषणा गरेका थिए । चार दिनदेखि चर्को गर्मी बढेसँगै रौतहटमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

बेमौसमको गर्मी चर्केपछि दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको बिरामी जिल्ला अस्पतालमा उपचारको लागि आइरहेको अस्पताल जिल्ला अस्पताल गाैरका प्रमुख डा. नवल किशोर झाले तराई बताउनु भयो । जिल्लाको अन्य स्वास्थ्य केन्द्रहरुमा उपचार गराउनेको संख्या निकै बढी भएको हुन सक्ने डा. झाको दाबी छ । दिनभरि अत्याधिक घाम हुने र राति पनि हावा नचली अत्यन्तै धेरै गर्मी हुन थालेकोले भाइरल ज्वरोको प्रकोप देखिएको डा. झा बताउनु हुन्छ ।

भाइरल ज्वरोबाट बच्न गर्मीबाट जोगिनु पर्ने, पर्याप्त मात्रामा पानी खानुपर्ने, चर्को घाममा कतै जान नहुने र आराम गर्नुपर्ने उनले सुझाव दिए । चन्द्रनिगाहपुरमा रहेका निजी तथा सरकारी अस्पतालमा समेत भाइरल ज्वरोका बिमारीको चाप बढेको अस्पतालहरूले जनाएका छ । चन्द्रपुर अस्पताल प्रालिका डाक्टर सुवास चौधरीका अनुसार अन्य समयको तुलनामा यो बेला अस्पतालमा बिमारीको चाप बढेको छ । उनले गर्मीबाट बच्नका सबैलाई घाममा नहिड्न आग्रह गरे ।

बर्षा हुनुपर्ने समयमा गर्मी एक्कासी बढेपछि रौतहटको जनजीवन प्रभावित बन्न पुगेको हो । बिगत केही दिनदेखी ४० डिग्रीभन्दा माथी तापक्रम पुगेका कारण नियमित कामकाज गर्ने देखी लिएर खेती गर्ने किसान सबैलाई समस्या परेको छ ।अचानक बढेको गर्मीका कारण बच्चाहरुमा समेत एलर्जी र खटिराको प्रकोप देखापर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *