३५ हजारले अवलोकन गरे, नेतादेखि कलाकारसम्मको सहभागिता(फोटोफिचर)

“
काठमाडौं, साउन ५ । १२ औं इक्यान शैक्षिक मेलामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ ।
शैक्षिक मेलाको आज तेस्रो दिन शनिबार विद्यार्थीहरुको मात्र सहभागिता रहेन, पूर्वप्रधानमन्त्री देखि कलाकार अनी पत्रकारको समेत सहभागिता रह्यो ।
आज नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सञ्चारकर्मी ऋषि धमला, कलाकार पृथ्वीराज प्रसाईले समेत मेलाको अवलोकन गरेका थिए ।
मेलाको अवलोकन गर्दै नेता नेपालले विश्व बजारमा हासिल भएका सिप र ज्ञानलाई नेपालको विकास गर्न लगाउनुपर्ने बताउँदै त्यसका लागि विदेशमा उच्च शिक्षा हासिल गरिसकेपछि स्वदेश फर्कनु पर्ने बताए ।
‘बैदेशिक शिक्षामा गएका दक्ष जनशक्तिहरु देशका लागि आवश्यक छ, मुलुक संबृद्धशाली बनाउन विदेशमा हासिल गरेको ज्ञान र सिप नेपाली माटोमा लगाउनुपर्छ ।’ उनले भने ।
शैक्षिक मेलामा कक्षा १२ को परीक्षा दिएर बसेका तथा ब्याचलर माष्टर्स गर्न विदेश जाने विद्यार्थीहरुको सहभागिता देखिएको नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०का शैक्षिक मेला विभाग संयोजक दीपकराज भुसालले बताए ।
उनका अनुसार आज शनिबार मात्रै ३५ हजार विद्यार्थीले मेलाको अवलोकन गरेका छन् । शैक्षिक मेलामा विद्यार्थीसँगै राजनीतिक दलका नेता, कलाकार सञ्चारकर्मी र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
शैक्षिक मेलामा विद्यार्थीले कक्षा १२ पास गरिसकेपछि के कस्ता विषय अध्ययन गर्न सकिन्छ, विदेशमा कस्ता विषयहरु अध्ययन गर्दा फाइदा हुन्छ भन्ने बारेमा परामर्शदाताहरुसँग परामर्श लिएका छन् ।
‘विगतको भन्दा यसपटकको शैक्षिक मेलामा विद्यार्थीको सहभागिता उत्साहजनक देखिएको छ ।’ मेला संयोजक भुसालले भने ।
शैक्षिक मेलामा विद्यार्थीले साइन्स, मेनेजमेण्ट, आइटी, इन्जिनियरिङ, सोसल साइन्स, मेडिकल साइन्स, एभियसन लगायत प्राविधिक विषयमा परामर्श लिएको मेलामा स्काइ एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर राजन श्रेष्ठले बताए ।
‘कस्ता विषयहरु अध्ययन गर्दा स्वदेश फर्किएर पनि स्थापित हुन सकिन्छ भन्ने कुरामा विद्यार्थीको रुचि देखिएको छ भने, कतिपय विद्यार्थीहरुमा कक्षा १२ पास गरेपछि के पढ्ने अन्यौलता देखिएको थियो, त्यस्ता विद्यार्थीलाई हामीले उसको एकेडेमिक र इकोनोमिक्स स्टाटसलाई हेरेर काउन्सेलिङ गरिरहेका छौं ।’ उनले भने ।
श्रेष्ठका अनुसार यस पटक शैक्षिक मेलामा विद्यार्थीहरुले प्राविधिक विषयलाई प्राथमिकता दिएका छन् । मेलामा विद्यार्थीले होटल मेनेजमेण्टका विषयमा प्राथमिकताका साथ काउन्सेलिङ गरेका छन् ।
शैक्षिक मेलामा सहभागी भएका कन्सल्टेन्सीहरुले सम्बन्धित देशका कलेजका आधिकारिक प्रतिनिधि तथा मान्यता प्राप्त काउन्सलरहरुको ब्यवस्था गरेका छन् ।
कतिपय विश्वविद्यालयले विद्यार्थीको शैक्षिक आर्थिक अवस्था हेरेर छात्रबृत्ति समेत दिएका छन् । खासगरी मास्टर्स तथा पिएचडी गर्न चाहना राख्ने विद्यार्थीलाई अन द स्पट स्कलरसिपको ब्यवस्था गरिएको छ ।
यसैगरी शैक्षिक मेलामा आएका विद्यार्थीले मेडिकल शिक्षाका बारेमा पनि चासो देखाएको गुरुकूल एजुकेशन फाउण्डेशनका मेनेजिङ डाइरेक्टर रोशन शर्मा निरौलाले बताए ।
‘मेडिकलल शिक्षा विश्वबजारमा अत्याधिक सम्मानित र माग भईआएको शिक्षा भएकोले विद्यार्थीमा रुचि देखिएको छ । आज मात्रै पाँच दर्जन विद्यार्थीले एमविविएस कहाँ कसरी अध्ययन गर्ने परामर्श लिए ।’ उनले भने ।
वानअप इभेण्ट मेनेजमेन्टले ब्यवस्थापन गरेको शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, क्यानडा, जापान, बंगलादेश, रसिया, चीन, भारत, सिंगापुर लगायत विश्वका उत्कृष्ट शैक्षिक गन्तब्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजहरुको सहभागिता रहेको छ ।
ब्रिटिस काउन्सिल प्रिजेन्ट्स यूरो एशिया एजुकेशनल कन्सल्टेन्सी १२ औं इक्यान एजुकेशनल फेयरको इन एशासिएशन विथमा मर्सि एजुकेशन रहेको छ ।
शैक्षिक मेलाको मेन स्पोन्सरमा काठमाडौं इन्फोसिस, पावर्ड वाई हार्डफोर्ड एजुकेशन, प्लाटिनम स्पोन्सरमा आइ एस एम टी कलेज, डायमण्ड स्पोन्सरमा इम्पल्स, गोल्ड स्पोन्सरमा लिंकन एजुकेशनल, स्लिभर स्पोन्सरमा स्काइ एजुकेशन कन्सल्टेन्सी रहेका छन् । शैक्षिक मेला भोलीसम्म सञ्चालन हुने छ ।
“








