‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न साहित्यकारको सुझाव

काठमाडाैं, साउन ५ । आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताएका छन् ।

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल अाएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै विभिन्न भाषामा अनुदित ‘रामायण’को प्रकाशन, भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा ‘रामायण’को महत्व र भानुजयन्ती, भारतमा भानु शालिकको स्थापना, ‘रामायण’ अडियो क्यासेटको निर्माण, भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र, उनीमाथि गरिएका विभिन्न विद्यावारिधि आदि कारणले सो कुरा पुष्टि हुन सक्ने बताइन् ।

खरसाङ निवासी डा लामाले भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन विषयमा वनारस विश्वविद्यालयबाट सन् १९९७(विसं २०५४तिर) विद्यावारिधि पूरा गर्नुभएको थियो । सिक्किम विश्वविद्यालयको स्कूल अफ ल्याङ्ग्वेजेस एण्ड लिटरेचरमा उहाँ हालै डीनका रुपमा नियुक्त गरिएकी छिन् ।

“हिन्दी, असमेली, बंगला, मैथिली, भोजपुरी र अंग्रेजीमा भानुभक्तको रामायणको अनुवाद हुनु भनेको सो कृति विश्वस्तरमा पुग्नु हो, अनि कविलाई विश्व कवि मात्र नभनेर विश्वसम्पदाका रुपमा नै आधिकारिक तौरले स्थापित गर्ने प्रयास गर्नु हो”, कार्यपत्रमा भनिएको छ ।

डा लामाले नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्वसम्पदाका रुपमा स्थापित भइसकेकाले उनको महान् साहित्यिक सम्पदा ‘भानुभक्तीय रामायण’ लाई पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संरक्षण प्रदान गराउन तथा विश्व धरोहरका रुपमा स्थापित गर्न आधिकारिक रुपमा पहल हुनुपर्नेमा उनले जाेड दिएकी छिन् ।  यसका लागि नेपाल र भारत सरकार दुवैले राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)सित पत्राचार गर्न उनले सुझाव दिइन् ।

सन् २०१४ मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा राखेका लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सकिने उनको तर्क छ ।

सो प्रक्रियामा सरकारलाई सहयोग गर्ने संस्थामा दुवै मुलुकका नेपाल प्रज्ञा –प्रतिष्ठान, नेपाली साहित्य अकादमी भारत, अन्तर्राष्ट्रियस्तरमा गठित नेपाल गैरआवासीय संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासंघ आदिले यसमा सहयोगको हात बढाउन सकेमा व्यावहारिक अनि आधिकारिक रुपमा भानुलाई विश्व सम्पदाका रुपमा स्थापना गर्न सफल हुने उनको विश्वास छ ।

नेपाली भाषा साहित्यका सन्दर्भमा आदिकवि भानुभक्तलाई विश्व कविका रुपमा स्थापित गर्न, विश्व धरोहर घोषित गर्न तथा ज्ञान समाजको प्रमुख हिस्सा बनाउन आजको युवा पुस्ता अघि आउनुपर्ने सुझाव पनि उनको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *