वैदेशिक रोजगारमा व्यक्तिगत उजुरीका पीडक खोज्नै गाह्रो

काठमाडौँ, साउन ४ । वैदेशिक रोजगार विभागको न्याय सम्पादन अत्यन्तै ढिलो हुने गरेको देखिएको छ । व्यक्तिगत उजुरीको फैसला अत्यन्तै ढिलो र थोरै मात्र उजुरी फरफारक हुने गरेका छन् । गत असार महिनामा व्यक्तिगत ९४ वटा उजुरी परेकोमा १३ वटा मात्रै फरफारक भएका छन् । फैसला भएका उजुरी पनि कार्यान्वयन नहुँदा पीडितले आफ्नो पक्षमा फैसला भएर पनि न्याय नपाउने अवस्था छ ।

म्यानपावर कम्पनीविरुद्ध असारमा ७९ वटा उजुरी परेकोमा ४६ वटा फरफारक भएका छन् । तर अधिकांस उजुरी मिलापत्रमै टुङग्याइएको छ । वैदेशिक रोजगार विभागले पीडितसँग प्रमाण नभएको कारण देखाउने गरेको छ । यस्ता उजुरी प्रक्रियामा लगे पीडितले थप ५० प्रतिशत क्षतीपूर्ति पाउँछन् तर मिलापत्र गराउँदा पीडितले तिरेको भन्दा कम रकम पाउने गरेका छन् । म्यानपावर कम्पनीले विभिन्न बहानामा पीडितले तिरेको भन्दा कम रकम दिने गरेका छन् ।

व्यक्तिगत भन्दा संस्थागत उजुरी फरफारकको संख्या बढी छ । व्यक्तिगत उजुरीमा पीडक पत्ता नलाग्ने तर संस्थागत भने सहजै पत्ता लाग्ने भएकाले उजुरी फरफारकमा संस्थागत सहज हुने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले संस्थालाई कारबाही गर्न सहज भएपनि व्यक्तिगत उजुरी फरफराक गर्न समस्या हुने गरेको बताएका छन् । संस्थागत उजुरी परे तत्काल संस्थालाई बोलाएर छलफल गरिने र धरौटी रकमबाट पनि क्षतीपूर्ति दिन सकिन्छ । तर व्यक्तिगत उजुरीमा पीडक पत्ता लगाउनै समस्या हुने गरेको र पत्ता लगाएर छलफल गरेपनि सहमती नभए न्यायधिकरणमा मुद्दा दर्ता गर्नुपर्छ । यसले प्रक्रिया लामो हुने र पीडितसँग आवश्यक प्रमाण नहुँदा न्याय पाउनै कठिन अवस्था रहेको छ ।

वैदेशिक रोजगारीसँग जोडिएमा मुद्दा हेर्न प्रहरीले पनि नमान्ने भएकाले व्यक्ति पत्ता लगाएर कारबाही गर्न थप जटिलता देखिएको छ । व्यक्तिगत ठगीका समस्या वैदेशिक रोजगारीको ठूलो समस्या छ ।

संस्थागत उजुरी फरफारक केहि सहज र छिटो हुने भएपनि पीडितले न्याय नपाएको गुनासो गर्दै आएका छन् । तर विभागका प्रवक्ता तिमल्सिनाले पीडितसँग प्रमाण नहुँदा यस्तो समस्या देखिने गरेको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले संस्थागत उजुरी समयमै फरफारक गर्न व्यवसायीहरुलाई निर्देशेन दिइसकिएको बताउँदै कतिपय समस्या पीडितकै कारण देखिएको बताए । उनले भने, ‘उजु्री हालेपछि कतिपय पीडित गाउँ गएर सम्पर्कबिहिन हुने र कोहि फेरि विदेश पुग्ने भएकाले संस्थागत उजुरी फरफराकमा समस्या देखिएको छ ।’

कतिपय उजुरीको किनारा लागिसकेपछि पनि उजुरी नझिकेर आफूहरुलाई दुःख दिने गरेको गुनासो अध्यक्ष गुरुङको छ । उजुरी परेको तीन दिन भित्रमा उजुरी बारे जवाफ दिन संघले निर्देशन दिएको छ ।

यस्तै रोजगारदातासँग जोडिएका उजुरी पनि समयमै फरफारक नहुने समस्या बढि छ । विदेशमा भनेको काम र तलब नपाउने तर उजुरी भने म्यानपावर व्यवसायीको विरुद्धमा पर्ने भएकाले पनि समस्या देखिएको गुरुङले बताए ।

उजुरी परेका म्यानपावर व्यवसायीलाई कामदार पठाउन समस्या हुने गरेको गुरुङले सुनाए । रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीविरुद्ध उजुरी नरहेको सिफारिस माग्ने भएकाले उजुरी फरफारक नहुँदा आफूहरुलाई पनि समस्या हुने गरेको उनले सुनाए । समयमै उजुरी फरफारक गराउन पीडितलाई पनि समयको दायरामा ल्याउने गरी ऐनमै तोकिनु पर्ने उनको माग छ ।

गत वर्ष ११ सय ९ वटा मुद्दा व्यक्तिविरुद्ध दर्ता भएका छन् । यी मध्ये १ सय ९१ व्टा मात्रै फरफारक भएको छ । व्यक्तिगत उजुरीमा मात्रै ७५ करोड ३७ लाख १० हजार ७३ रुपैयाँ बिगो दावी गरिएको छ । यसमध्य असार सम्ममा १५ करोड २४ लाख ४५ हजार ५ सय ११ रुपैयाँ बिगो भराएको छ । असार सम्ममा २ सय ३४ वटा मुद्दा वैदेशिक रोजगार विभागले न्यायाधिकरणमा पठाएको छ ।

संस्थागत तर्फ भने १ हजार २० वटा मुद्दा दर्ता भएकोमा ८ सय ३२ वटा मुद्दा फरफारक भएको छ । ७६ करोड ८३ लाख ६१ हजार १ सय ८२ रुपैयाँ बिगो दाबी गरेकोमा विभागले ४ करोड ९५ लाख ४९ हजार ३ सय ६० ?पैयाँ मात्रै बिगो भराएको छ ।

यो बिगो माग गरिएको तुलानामा निक्कै कम हो । वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्धका मुद्दा अधिकांस मिलापत्रमै टुङ्ग्याउने गरेकाले बिगो दाबीको तुलनामा पीडितले कम रकम पाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *