अस्पतालमै गोली चलाएर ओली सरकारले राणाशासकको व्यवहार गर्यो– कांग्रेस नेता प्रकाशमान

धनगढी, साउन ४ । कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले व्यापारीहरुलाई फाइदा हुने क्रियाकलापमा ध्यान केन्द्रित गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिंहले अहिलेको सरकारले सहरमुखी र व्यापारीहरुलाई फाइदा हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाएका हुन् ।

सिंहले बिहीबार जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै सुरक्षाकर्मीद्वारा गरिएको धरपकड सबैका लागि लज्जाको विषय रहेको बताउँदै हरेक प्रदेशमा सरकारी मेडिकल कलेज र गुणस्तरीय स्वास्थ्य संस्था खोल्नुपर्नेमा जोड दिए ।

साथै सिंहले सरकारले बहुमतको दम्भले तानाशाही प्रवृत्ति देखाएको आरोप समेत लगाए । उनले नेकपाको सरकारले चिकित्सा शिक्षा विधेयक आफ्नै पार्टी, कार्यकर्ता, लगानीकर्ता र लगानीकर्ताहरुलाई बढावा दिने गरी तोडमोड गरेर ल्याउन लागेको दावी गर्दै डा. केसीको माग जायज भएको बताए ।

सिंहले डा. केसीका मागलाई सम्बोधन गर्न छोडेर जुम्ला अस्पतालमै लाठीचार्ज गरी गोली चलाएर ओली सरकारले राणाशासकजस्तो व्यवहार गरेको बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले आम नागरिकको हित विपरित काम गरेमा कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगले प्रदर्शन गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *