जबरजस्ती होइन, न्यायपूर्ण मागहरुलाई स्वीकारेर डा. केसीको जीवनरक्षा गर्नुपर्छ – मोहनविक्रम

“
काठमाडौँ, साउन ४ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसी र उनका समर्थक माथिको धरपकडमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले निन्दा गरेको छ ।
उनको जीवनरक्षा कुनै प्रकारको कारबाही नगरेर न्यायपूर्ण मागहरुलाई स्वीकार गर्नुपर्ने भन्दै नेकपा (मसाल) ले निन्दा गरेको हो ।
डा. केसीको जीवनरक्षा अहिलेको महत्त्वपूर्ण कार्य भए पनि न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको बताउँदै मसालले विज्ञप्तिमार्फत् बल प्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग माग गरेको छ ।
मसालका महासचिव मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्त्वपूर्ण कार्य हो, तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’
मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाएको छ ।
ओली सरकारको सिफारिसमा गत वैशाख १३ गते जारी गरेको अध्यादेशबाट विमुख भई नयाँ विधेयक प्रस्तुत गर्दा अहिलेको परिणाम आएको भन्दै मसालले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाएको हो ।
“








