तीन सातादेखि अवरुद्ध राँके–रवि सडक पुनः सञ्चालन

इलाम, साउन ९ । बर्सातका कारण तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । सडकको मर्मतसम्भार र स्तरोन्नति गरेपछि सडक पुनः सञ्चालनमा आएको हो ।

पहिरो हटाउन फाल्गुनन्द–५ का समाजसेवी तिलविक्रम चेम्जोङ र फाकफोकथुम गाउँपालिका–१ का वडाध्यक्ष टेकवीर नेम्वाङले पहल गरेपछि सडक डिभिजन कार्यालय इलामबाट डोजरसहित सडक सुपरभाइजरको टोलीले मर्मत गरेको बाटो अनुगमन समितिका अध्यक्ष दानबहादुर अधिकारीले जानकारी दिए ।

झापाको विर्तामोड, इलाम र फिदिमबाट पाँचथर, इलामको फाकफोथुम, सप्तमी, रवि र यासोकतर्फ जाने सवारीसाधन नचल्दा जनजीवन कष्टकर बनेको थियो ।

सो सडकमा दैनिक ५० भन्दा बढी ट्याक्सी, मोटरसाइकल, एम्बुलेन्स र ट्याक्टर सञ्चालन हुने गरेका छन् । सोही सडकबाट इलाम र पाँचथरका ग्रामीण वस्तीमा दैनिक उपभोग्य सामान, बिरामी र निर्माण सामग्री ओसारपसार गरिँदै आएको थियो । वर्षाले सडक चिप्लो भई गाडी चलाउन कठिनाइ भए पछि यात्रुले कष्टकर यात्रा गर्दै आएका छन् ।

करिब १०३ किलोमिटर दूरी रहेको उक्त सडक राँकेदेखि धनकुटा भेडेटारसम्म महाभारत डाँडा हुँदै पहाडी क्षेत्रमा पर्दछ । यहाँबाट रवि–चिसोपानी पञ्चमी हुँदै झापाको दमकसमेत जोडिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको कालोपत्र योजनाका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको र निकट भविस्यमै सुविधायुक्त राजमार्ग बन्न लागेको सडक सुपरभाइजर सौरव बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *