डा. केसीको सम्बन्धमा सत्ताधारी र विपक्षी दुवै दोषीः विवेकशील साझा पार्टी

काठमाडौं,साउन ३ । विवेकशील साझा पार्टीले डाक्टर गोविन्द केसीमाथि सरकारले गरेको हस्तक्षेपको आलोचना गरेको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रा.डा. केसीको मागका विषयमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय रहेको टिप्पणी गरेको छ ।

डा. केसीका सम्बन्धमा सरकारसँगै कांग्रेस पनि उत्तिकै दोषी भएको विवेकशील साझा पार्टीको ठम्याई छ ।

विहिबार जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिले कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन’ उसले भनेको छ, ‘डा. केसीका १५ मध्ये ७ वटा अनसन कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’

यस्तो छ विवेकशील साझाले जारी गरेको विज्ञप्ति

सत्याग्रही डा गोविन्द केसीको अनसन त्यस्तो विन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो। तर त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ।

वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन् त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाल काँग्रेस पनि छ। उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफा-खोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली काँग्रेसको सरकारको प्रमूख भूमिका थियो। अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन। डा केसीका १५ मध्ये ७ वटा अनसन नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो।

‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रूपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व हो भन्नेमा विश्वास गर्दछ। विवेकशील साझा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस दुबैलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौति दिन्छ। र, त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनु पर्छ भनि राखेको माग पुरा गर्न आह्वान गर्दछ। नेपाल कम्युनिस्ट पार्टी सरकारमा रहेकोले हाललाई त्यसको मूख्य दायित्व उनीहरूमैं निहित रहन्छ तर कम्युनिस्ट पार्टीजस्तै आफूलाई समाजवादी भन्ने नेपाली काँग्रेस पनि सो दायित्वबाट भाग्न सक्दैन।

डा केसीको जीवन तलमाथि भएको खण्डमा मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल एकजना सत्याग्रहीको जीवन समाप्त पारेको दोषबाट मुक्त हुने छैनन्।

सूर्यराज आचार्य

प्रवक्ता

विवेकशील साझा पार्टी

मिति २०७५/०४/०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =