सडक बालक सडकमै, धरान धमाधम बालमैत्री वडा घोषणा हुँदै

धरान, साउन ३ भरतराज शर्मा(गोपाल) । स्थानीय सरकारका रुपमा रहेका धरान उपमहानगरपालिकाले ठुल्ठुला योजनाहरु आफ्ना कार्यदिशामा राखेका छन् । ठुल्ठुला काम गरेरै देखाउने प्रतिबद्धता कहिँ कतै गर्न छोड्दैनन् ।

तर बिडम्बना धरान उपमाहानगरपालिकाले जति प्रतिबद्धता र कुरा गरेपनि ती सबै कुरामै सिमित हुने गरेको कुरा पनि पछि पर्देनन् । ती मध्येका एक उदाहरण हुन् धरानमा भखरै मात्र गरिएको बालमैत्री वडा घोषणा ।

धरान उपमहानगरपालिकामा २० वटै वडालाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी रहेको छ । धरान १३ र १४ वडा लाई बालमैत्री घोषणा समेत गरिसकेका छन् । तर धरानमा रहेका सडक बालबालिकाले पाउने अधिकारका विषयमा सरोकारवाला पक्ष बेखरबर झै बनेको देख्दा लाग्छ धरानले गरेका प्रतिबद्धता र वाचा कागजमै सिमित छ ।

सडक बालबालिका संरक्षणको लागि विभिन्न संघ संस्था खुलेका छन् भने राज्यले समेत यस्ता बालबालिकाको शिक्षा, स्वस्थ्य र रोजगारको लागि नीति नियम समेत बनाइसकेको छ ।

स्थानीय स्तरमा धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखाले सरोकारवाला पक्षसँग समन्वय गरेर बाल संरक्षणको काम गर्छ तर सडक बालबालिका अभिभावक बिहीन भएर भौतारिरहँदा समेत सम्बन्धित पक्ष बेखबर झैँ देखिएको छ ।

धरानको भानुचौकमा बिहानको समयमा जो कोही पुग्ने हो भने सडकका पेटी तथा गल्लीमा सडक बालबालिका यत्रतत्र लाम लागेर सुतिरहेको भेटिन्छन् ।

उनीहरु उठ्नेबित्तिकै धरानका विभिन्न स्थानमा गएर थोत्रा प्लाष्टिक टिप्ने, बस पार्कमा गएर यात्रुहरुसँग पैसा माग्ने र साँझपख लागू औषधको रुपमा ड्रेनडाइव तथा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने उनीहरुको दिनचर्या नै बनेको छ ।

सडक बालबालिकाको यस्तो विकराल समस्या समाधान गर्न केही समय अगाडि धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानबीच भएको छलफलले त समाधानका लागि उपमहानगरपालिकाले २ लाख बजेट समेत छुट्याएको थियो ।

प्रहरीकै सक्रियातामा यसरी सडकमा हिँड्ने सडकका केही बालबालिकालाई उनीहरुकै अभिभावकलाई बुझाउने, केहीलाई इटहरीमा रहेको भ्याइस अफ चिल्ड्रेन नामक संस्थामा बुझाउने र केही बालबालिकालाई धरान १३ फुस्रेमा रहेको किरात याक्थुङ चुम्लुङ पुर्नजिवन केन्द्रमा पुर्याउने काम गरिएपनि यस कार्यले केही दिनका लागि मात्रै धरानको भानुचौकमा सडक बालबालिका भेटिएनन् ।

तर हाल आएर विगतको जस्तै सडक बालबालिकाले भानुचौकमा भीडभाड हुन थालेको छ । अल्पकालीन समस्या समाधान भन्दा पनि दीर्घकालीन समस्या समाधानमा नलागेसम्म यस्तो समस्या आइरहने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलको भनाई छ ।

चितवन सडकमा जस्तै धरानमा पनि सडक बालबालिककाको लागि दीर्घकालीन योजना ल्याउनुपर्ने उनी बताउँछन् । उनले यसका लागि बालगृह समेत धरान उपमहानगरपालिकाले बनाउन आवश्यक रहेको बताए ।

सडक बालबालिकाकै कारण भानुचौक वरपरका सर्वसाधारण हैरान हुने गरेको स्थानीयहरुको भनाई छ । चौविसै घण्टा भानुचौक वरिपरि रहने उनीहरुले सर्वसाधारणलाई पैसा माग्ने, घण्टाघर छेउमा बसेर डेनड्राइव खाने लगायतका काम गरेर सर्वसाधारणलाई समेत हैरानी पार्ने गरेको भानुचौक छेउमा रहेको घण्टाघर व्यवस्थापन समितिका कर्मचारी राजा लिम्बुको भनाई छ ।

धरानमा करिब १ सय ५० को हाराहारीमा सडक बालबालिका रहेको तथ्याङक छ । ती मध्ये केहीको व्यवस्थापन भएपनि अहिले पनि धरानमा १ सय भन्दा बढी सडक बालबालिका यत्रतत्र धरानको भानुचौकमा भौतारिँदै हिँडेको पाइन्छ ।

राज्यले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चतता गर्न नसक्दा दिनप्रतिदिन सडक बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ भने यसतर्फ सम्बन्धित पक्षले समयमै ध्यान दिन जरुरी देखिन्छ । नत्र धरानको बालमैत्री वडा घोषणा गर्ने कुरा कागजी प्रक्रिया पुर्याएर बजेट सक्नुको विकल्प मात्र हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *