डा. केसीको समर्थनमा आकस्मिक बाहेकका अस्पताल सेवा बन्द, बिरामी मर्कामा

काठमाडाैं, साउन ३ । डाक्टरहरुले देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा विहीबार आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केशीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन आज देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।

डाक्टर केसीको माग पूरा गर्न १९ दिनसम्म समय दिँदा पनि सरकारले वेवास्ता गरेको र केशीको स्वास्थ्य अत्यन्तै जोखिममा परेपछि बाध्य भएर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिउँसो १२ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर  सरकारलाई दबाब दिने पनि बताउनुभयो ।

सरकारले अझै आफ्ना माग पूरा नगरे हड्ताल लम्ब्याउने संघले जनाएको छ । सरकारले गठन गरेको बार्ता टोलीले समस्या समाधानमा गम्भीरता नदेखाएको र जवरजस्ती केसीलाई काठमाडौं ल्याउन मात्र खोजिएकोमा पनि संघले आपत्ति जनाएको छ ।

तर, अस्पताल जस्तो अति संवेदनशिल क्षेत्रमा डाक्टरले नै आन्दोलन गरेकोबारे आलोचना पनि भइरहेको छ । २४ सै घण्टा सेवा दिनुपर्ने र बन्द हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र भएपनि डाक्टरले नै सेवा बन्द गर्नु नागरिकको मौलिक हक विरुद्ध र कानूनको पनि विपरित हुने भन्दै आलोचना गरिएको हो ।

डाक्टर केसीको माग प्रति ऐक्यवद्धता जनाउँदै तथा उहाँको जीवनरक्षाका लागि दबाब दिन प्रजातन्त्रवादी प्राध्यापक संघले पनि माइतीघरमण्डलामा दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्दैछ ।

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ । बुधबार बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आज हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

उहाँका मागबारे काठमाडौंमै बसेर गम्भीर छलफल गर्ने बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *