भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द !

काठमाडौँ, साउन २ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले डा. केसीको मागलाई समर्थन जनाउँदै सरकारलाई दबाब दिन बन्दको घोषणा गरेको हो ।

चिकित्सक संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको जनाएको छ ।

संघले असार १६ गतेदेखि जुम्लामा अनसतरत के।सी।को जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ती अपिल गर्दा समेत सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको आरोप समेत लगाएको छ ।

आमरण अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरता प्रदर्शन नगरेको र डा. केसीले उठाएका जायज मागहरुका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडी नबढाएको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगरेका गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

एक दिने बन्दमार्फत् देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको संघले जनाएको छ ।

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *