वार्ताका लागि सरकार जिम्मेवार र संवेदनशील छैन, म्यान्डेटविना वार्ता हुँदैन– डा. गोविन्द केसी

काठमाडौँ, साउन २ । जुम्लामा अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा फिर्ता गरी पूर्ण म्यान्डेटसहितको टोली पठाए मात्र वार्ता हुने बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम गरेको भन्दै म्यान्डेटविना वार्ता नहुने बताएका हुन् ।

सरकारले प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको जनाएका छन्। यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिन्छ, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा आफ्ना मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने केसीको भनाइ छ ।

डा. केसीले, वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं। त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं, विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दुई दिनयता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको थियो।

सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन नसकेको केसी पक्षका वार्ता टोलीका सदस्यको भनाइ छ । मंगलबार मात्रै दुई पटक वार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =