आजको मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु के के छन् ?

काठमाडौँ,असार ३२ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण निर्णयहरु यसप्रकार छन् :

–सरकारले भारतका लागि नेपाली राजदुतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ।

–नीलकण्ठ उप्रेतीलाई अफगानिस्तान र भुटानको गैर आवासीय राजदुतमा पनि सिफारिस गरिएको छ ।

–उदयराज पाण्डेलाई मलेसियाको राजदुतमा सिफारिस गरेको छ। पूर्व राजदुत समेत रहेका पाण्डेलाई इन्डोनेशिया र ब्रुनाईको गैर आवासीय राजदुतमा समेत सिफारिस गरिएको छ ।

–सरकारले सरकारी स्वामित्वमा रहेका सबै कर्मचारीहरुको बैक खातामार्फत् पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ।

– असोज मसान्तसम्म लागू हुने गरी बैंक खातामार्फत् पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरिएको छ । अन्य श्रमिकहरुको हकमा भने सरकारले बैकमार्फत पारिश्रमिक भुक्तानीको काम पुस मसान्त भित्र गरिसक्ने निर्णय पनि गरेको छ ।

–राजस्व प्राधिकरण काठमाडौंको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधिश किशोर सिलवाललाई नियुक्त गरिएको छ।

– भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माणका लागि एशीयाली विकास बैंकबाट करिव १ सय ६४ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान सहायता लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

– नेपाल न्याय सेवा न्याय र कानुन समूहको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतहरु मध्ये न्याय तर्फ १० जना र कानुन तर्फ ५ जना सरुवा गरेको छ।

–भू–सूचना प्रणाली संचालन पहिलो संचालन निर्देशिका, २०७५ पनि स्वीकृत गरिएको छ।

– आम संचारसम्बन्धि नयाँ विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिएको छ।

– राहदानी सम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। सरकारले विद्युतीय राहदानी जारी गर्ने निर्णय पनि गरेको छ।

– विभिन्न मन्त्रालय र प्रदेशका मन्त्रालयहरुको संगठन संरचनासम्बन्धि प्रस्ताव पारित गरिएको छ।

–युवा परिषदलाई जिल्ला समन्वय समितिसँग समन्वय गरेर काम गर्ने व्यवस्था गरेको छ ।

–संविधानको प्रावधान अनुसार गाउँ पालिकाको अनुरोधमा विभिन्न गाउँपालिकाहरुको केन्द्र तोक्ने निर्णय गरेको छ।

(स्रोत : सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटा)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =