डा. केसीसँग सम्बन्धित अप्रिय घटना भए सरकार जिम्मेवार – शेरबहादुर देउवा

काठमाडौँ, असार ३२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधारका लागि अनशनमा रहेका डा गोविन्द केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको बताएका छन् ।

सोमबार एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने तथा चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिएका छन् ।

‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले मलाई गम्भीर बनाएको छ । यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु ।’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो नेतृत्वमा रहेको सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको स्मरण गराउँदै देउवाले केसीसँको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने बताएका छन्।

यसैगरी देउवाले डा केसीको जीवन तलमाथि भएमा त्यसको सम्पूर्ण दोषको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको छ । अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानप्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *