सरकार स्वेच्छाचारितामा चलेको आरोप लगाउँदै धर्ना दिन गएका मानवअधिकारकर्मीहरु पक्राउ

“
काठमाडौँ, असार ३२ । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा गएका २५ भन्दा धेरै अधिकारीकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेकोले कृष्ण पहाडीसहित २५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकार स्वेच्छाचारितामा चलेको आरोप लगाउँदै धर्ना दिन गएका मानवअधिकारकर्मीहरु बानेश्वरबाट पक्राउ परेका परेका हुन् ।
उनीहरुले सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, नेपाल सरकार लहड हैन लोकतान्त्रिक आचरण प्रदर्शन गरु लगायतका नारा लगाएका थिए ।
उनीहरुले गत शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए। शनिबार पनि प्रहरीले उनीहरुलाई २ घन्टा थुनामा राखी रिहा गरेको थियो ।
प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा। गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाडौं शाखा सभापति रामकृष्ण बराललगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ ।
“








