विद्यालयलाई बालमैत्री शिक्षण सामाग्री बितरण

“
कैलाली,असार ३१ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र बालबालिकाको बिकासका लागि वडा कार्यालयद्वारा बालमैत्री शिक्षण सामाग्री बितरण गरिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयलाई वडा कार्यालयले खेलकुद तथा शिक्षण सामाग्री बितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले उक्त सामग्री बितरण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को लक्षितवर्ग कार्यक्रम अन्तर्गत गाउँपालिकाद्वारा विनियोजित २ लाख रकमको सामाग्री वितरण गरिएको वडा सचिव रामभजन डंगौराले बताए ।
वडा न ३ का वडाअध्यक्ष कर्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष राम बहादुर चौधरी र निमित्त प्रअ गोविन्द बीसीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयले विद्यालयलाई कक्षाकोठा कार्पेट, किट बक्स, भलिबल, फुटबल, प्रोजेक्टर, रिङ्ग, लुडो, चेस, मादल, बासुरी, पंखा लगायतका सामाग्री बितरण गरेको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष कर्ण सुनारले विद्यालयमा गर्मीका कारण विद्यार्थीलाई पठन पाठन प्रभावित हुने समस्या भएकाले पंखा बितरण गरिएको बताए । उनले विद्यालयमा वितरण गरिएको सामग्रीको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए ।
सुनारले बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षासंगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्रीका साथै शैक्षिक सामग्री बितरण गरिएको बताए ।
‘शिक्षण सामाग्रीको सही सदुपयोग होस्, बालबालिकाको सुविधा होस्, पढाई सरल होस उनले भने ।’ हामीले शिक्षकबाट पनि यही अपेक्षा लिएका छौं ।
विद्यालय विकासका लागि सदैव प्रतिबद्ध रहने बताउदै अध्यक्ष सुनारले खेलकुद तथा शिक्षण सामग्री वितरण बालबालिकाको विकास र सिकाई प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
खेलकुदका माध्यमबाट बालबालिकाको विकासमा सरल, सहजीकरण होस भन्ने उद्देश्यले क्रिकेट ब्याट, बल, भलिबल, फुटबल बितरण गरिएको बताए । कार्यक्रममा शिक्षक, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन वडा सदस्य टंक ओलीले गरेका थिए ।
“








