डा. केसीको जीवन रक्षा गर्नुपर्ने : उपनेता गच्छदार

विराटनगर, असार ३१ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा. गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्।

विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा आफैँ संलग्न रहेको सरकारले डा. केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेश अनुसारकै विधेयक ल्याउन आग्रह गरे ।

उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए । उनले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताए ।

अध्यादेशअनुसारको विधेयक नआए संसद्मा काँग्रेसले सशक्त विरोध गर्ने उनले चेतावनी दिए ।

उपनेता गच्छदारले काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले पार्टी छोड्ने वा पार्टीबाट अलग हुने धारणा आफूले व्यक्त नगरेको र काँग्रेससँग भएको सहमति कार्यान्वयन लागि पार्टीभित्र आवाज उठाएको बताए ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *