विश्वकपमा बेल्जियमलाई ऐतिहासिक सफलता, इंग्ल्याण्ड २–० ले पराजित

विश्वकप फुटबलमा बेल्जियम पहिलो पटक तेश्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार इंग्ल्याण्डलाई २–० गोलले पराजित गर्दै विश्वकप फुटबलमा बेल्जियमले अहिले सम्मकै ठूलो सफलता हात पारेको हो ।

पहिलो पटक सन् १९८६ मा सेमिफाइनलमा पुगेको बेल्जियम पराजित भएको थियो ।

बेल्जियमलाई ऐतिहासिक सफलता दिलाउन कप्तान इडेन हजार्ड र थोमस म्युनिरले गोल गरे । खेलको चौथो मिनेटमा गोल गर्दै म्युनिरले अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा हजार्डले अर्को गोल थप्दै बेल्जियमको जित सुनिश्चत गरेका हुन् ।

सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएपछि बेल्जियमको उपाधि यात्रा टुङ्गिएको थियो । इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो । इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

इंग्ल्याण्ड र बेल्जियम समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको अन्तिम खेलमा पनि बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो ।

यस्तै इङल्याण्डका कप्तान ह्यारी केन भने गोल्टेन बुटको नजिक पुगेका छन् । उनको नजिक रहेका रोमेलु लुकाकुले गोल गर्न सकेनन् । केनको ६ र लुकाकुको ४ गोल रहेको छ । अब फ्रान्सका ग्रिजम्यान र एम्बाप्पेको समान तीन गोल छ । उनीहरूले आइतबारको फाइनलमा चमत्कार गरे मात्रै केनलाई भेट्न सक्ने छन् । जुन न्युन छ ।

सन् १९६६ मा उपाधि जित्नुबाहेक इंग्ल्याण्डले सबैभन्दा राम्रो प्रदर्शन गरेको विश्वकप भनेको सन् १९९० मा हो। त्यतिबेला इंग्ल्याण्ड चौथो स्थानमा आएको थियो।

फाइनलमा पुगेका फ्रान्स र क्रोयसिया भने आइतबार उपाधीका लागि भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *