विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटिदै

कैलाली । नियमित रूपमा विद्युत सेवा उपभोग गरि महसुल नतिर्ने ग्राहकलाई सहकारी संस्थाले कार्वाही प्रक्रिया अगाडी बढाएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित शिवशक्ति ग्रामिण विद्युत सहकारी संस्थाले यस्तो कदम चालेको हो । पटकपटक सूचना जारी गर्दा समेत ग्राहकले अटेरी गरेको भन्दै संस्थाको संचालक समितिले बिहीबारदेखि लाईन काट्न सुरु गरेको छ ।

संस्थाको नियम बिपरित एकवर्ष भन्दा बढी समयसम्म महसुल नबुझाउने ग्राहक नै लाइन काटिने सूचीमा परेका छन् ।संस्थाको संचालक समिति, प्रबन्धक र प्राबिधिक सहायक कर्मचारी सहितको टोलीले बिहीबार र शुक्रबार लाईन काटेको हो ।

संस्थाको सेवाक्षेत्र भित्रका उपभोक्तालाई बाँकी रहेको महसुल रकम बुझाउन १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको भएपनि उनीहरुले अटेरी गरेपछि कार्वाही प्रक्रिया थालिएको संस्थाकी अध्यक्ष डम्बरा घर्तीले बताईन । उनले संस्थामा विद्युत सेवाको दुरुपयोग हुन नदिन र चुहावट नियन्त्रण गर्न पहल भइरहेको समेत बताईन ।

संस्थामा हाल ६ सय ६१ उपभोक्ता रहेका छन् । लाइन काटिनेमा ६ महिना देखि १८ महिनासम्मको विद्युत महसुल नबुझाउने उपभोक्ता रहेका छन् ।

नियमित रूपमा विद्युत उपभोग गर्ने तर, महसुल भुक्तानी नगर्ने उपभोक्ताका कारण अन्य सेवाग्राहीलाई असर परेको भन्दै यस्तो निर्णय गरिएको संस्थाका कोषाध्यक्ष नन्दाराम बिष्टले बताए । विद्युतको सही सदुपयोग गर्न र चुहावट रोक्न समितिलाई उपभोक्ताले समेत साथ दिनुपर्ने उनले बताएका छन् ।

तिर्न बाँकी ग्राहकको बक्यौता महसुल रकम असुल गरिने यसअघि संचालक समितिले निर्णय गरिसकेको छ ।
गएको बर्ष ग्राहकको सेवा सुविधाका लागि ८५ वटा पोल लाईट जडान गरिएको समेत संस्थाले जनाएको छ । जडान गरिएका उक्त पोल लाईट कतिपय सेवाग्राहीले सदुपयोग नगरेको संस्थाले जनाएको छ ।

पोलमा लाईट टुटफुट भएकाले संरक्षण गर्नु सबैको दायित्व भएको उपाध्यक्ष नवराज टमट्टाले बताए । ‘उपभोक्ताको हित र सुरक्षाका लागि सार्बजनिक सडक र चोक–चोकमा पोल लाईट जडान गरियो तर, संरक्षणका लागि कसैले चासो राखेको पाइएन’ उनले भने । सहकारी संस्थाको बिकासका लागि सबैले सचेत र जिम्मेवार हुन आवश्यक छ ।

लाईन काटिएपछि विद्युत महसुस तिर्न ग्राहक कार्यालयमा आउन थालेका छन् । उनीहरूले अब देखि नियमित महसुल तिर्ने बानीको बिकास गर्ने प्रतिबद्धता जनाएको संस्थाकी प्रबन्धक धर्मा थापाले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *