डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा-चित्र बहादुर केसी

“
काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा प्रथम काठमाडौं महानगर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले मेडिकल माफियाहरूले काठमाडौंलाई मात्र नेपाल देख्ने र गरिवका छोराछोरीहरूलाई डाक्टर हुनवाट वञ्चित गर्नको लागि चलखेल गरेको पनि आरोप लगाए ।
केसीले छिटो भन्दा छिटो डाक्टर गोविन्द केसीको माग पुरा गर्न पनि सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले नेपालमा संघियता विदेशीको ग्रान्डडिजाईन्डमा आएको भन्दै अहिले वैदेशिक हस्तक्षेप व्याप्त रहेको जिकिर गरे ।
उनले अहिलेको अवस्थामा मुलुकले संघियतालाई आर्थिक हिसावले पनि धान्न नसक्ने बताए । उनले भने “जनमोर्चाले प्रादेशीक ईकाइको नामकरण गरेको थियो , अहिले संघियतावादीले तिनै नाम कायम गर्दै छन्।”
उनले काठमाडौंको फोहोरको डंगुर उठाउन नसक्ने सरकारले मेट्रो रेलको सपना देखाउनु हास्यास्पद भएको बताए । “मेलम्चीको नाममा अरवौ खर्च भईसकेको र विदेशी प्रभुको इसारामा देश कति दिन चल्ने , विदेशहरूले यहाँको स्रोत साधन माथीको दोहन बन्द गर्नु पर्छ । ” उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा ३ नम्बर प्रदेश समन्वय समितिका सदस्य आन्नद शर्माले पहिलेको भन्दा राष्ट्रियताको लडाई अहिले झन सशक्त रूपमा अगाडि वढाउन आवश्यकता रहेको जिकिर गरे ।
त्यस्तै प्रदेश ४ कि प्रदेशसभा सदस्य प्रिया थापा सुप्रभाले यो सरकारले जनताको आधारभुत आवश्यकताका लागि पनि काम गर्न नसकिरहेको आरोप लगाइन् । कार्यक्रममा राजमोका नेता समिर सिंह , ऋतु केसी लगाएतले मुलुक अझै पनि सोचे अनुरुप बिकासको बाटोमा अघि बढ्न नसकेको धारणा राखेका थिए ।
“








