कांग्रेस निरिह भएको हैन, सरकार तानाशाही भएको हो

काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ प्रतिनिधिसभा सांसद मिना सुब्बाले सरकारले निषेधित क्षेत्र तोकेर लोकतान्त्रिक मुल्य मान्यता माथि कुठाराघात गरेको बताएकी छिन् ।

मकालु खबरसँगको भेटघाटमा बोल्दै सांसद सुब्बाले सरकारले गरेका गलत कामको शान्तिपूर्ण तबरले विरोध गर्न पाउनुपर्ने संबैधानिक ब्यवस्थालाई कुल्चँदै निषेधित क्षेत्र घोषणा गरेर सरकार निरंकुश भएको बताइन् ।

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ की सांसद सुब्बाले ओली सरकारले चिकित्सा शिक्षा विधेयकका मुख्यमुख्य बुँदाहरु हटाएर पास गर्न लागेकोमा समेत आक्रोस ब्यक्त गर्दै मेडिकल माफियाको चंगुलमा सरकार फसेको समेत जिकिर गरिन् ।

सरकारको काम कारवाही, प्रतिपक्षमा रहेर नेपाली कांग्रेसले खेलेको भूमिका तथा पार्टी भित्रको आन्तरिक विवाद लगायतका विषयमा सांसद सुब्बासँग गरिएको कुराकानीको संक्षेपः

आजकल संसदमा निक्कै कराउँदै हुुनुहुन्छ किन ?

अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेको अवस्थामा सरकारले गरेका राम्रा कामलाई समर्थन गर्दै नराम्रा कामलाई विरोध गर्ने काम गरेको छ । तसर्थ पार्टीले उठाएका एजेण्डालाई संसदमा प्रस्तुत गर्नु, त्यसमा शशक्त रुपमा आवाज उठाउनु हामी प्रतिपक्षी सांसदहरुको कामै हो, फेरी आफ्नै क्षेत्रका एजेण्डा र महिला अधिकारका विषयमा बोल्नु मेरो अधिकार र कर्तब्य पनि त हो । मैले त्यहि भूमिका निर्वाह गरिरहेकी छु ।

प्रतिपक्षको भूमिका निभाइरहँदा अहिले सरकारले चालेको कदमलाई कसरी हेरिरहनुभएको छ ?

सरकारले राम्रो काम गर्नुभयो भने समर्थन गर्छौं, होइन भने बहुमतको दम्भ देखाएर जनतामा तानाशाह लाद्न खोज्नुभयो भने हामी प्रतिपक्षमा बसेर आवाज उठाइरहन्छौं । अहिले सरकारले चालेका कतिपय कदमहरु तानाशाही प्रवृत्तिका छन् ।

काँग्रेस त प्रतिपक्षको भूमिकामा निरिह देखिइरहेको छ नी, किन यतिसारो कमजोर भएको ?

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्दा निरिह भएको छैन, सरकार तानाशाही हुँदै गएर त्यस्तो देखिएको हो । जनजिविकाका, सार्वजनिक महत्व र राष्ट्रियताका सवालमा कांग्रेसले संसदमा शशक्त आवाज उठाउँदै आएको छ ।

भित्र र बाहिर बसेर हेर्दा फरक पर्छ । डा. गोविन्द केसीकै सवालमा देउवा सरकारले ल्याएको शिक्षा अध्यादेशलाई अहिलेको ओली सरकारले लोडमोड गरेर निरंकूशता निम्त्याएको हो । १० वर्षसम्म उपत्यका भित्र नयाँ मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ ओटाभन्दा बढि कलेजलाई सम्बन्धन नदिने विधेयकलाई कार्यान्वयन नगर्ने वुँदालाई हटाएर सरकारले मेडिकल माफियालाई नै संरक्षण गरिरहेको छ ।

यस्ता राष्ट्रिय विषयमा कांग्रेसले शशक्त आवाज उठाउँदै आइरहेको छ । तथापि, सरकार नै तानाशाही भएपछि हाम्रा आवाज कमजोर चाहिँ भएका हुन् ।

देउवा सरकारले विभिन्न सरकारी निकायमा नियुक्त गरेका पदाधिकारीहरुलाई बर्तमान सरकारले खारेज गरेको विषयलाई कसरी लिनुहुन्छ ?

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको निर्णय कुनै व्यक्तिका लागि नभई जनताको पक्षमा थियो । जबसम्म पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय रद्द गर्नुहुन्न हामी शशक्त रुपमा प्रतिकार गर्छौं ।

दुई तिहाईको सरकारले गरेका निर्णयलाई तानाशाही भन्न कत्तिको जायज हो, जनताका पक्षमा निर्णय गर्दा कांग्रेसले साथ दिनुपर्ने हैन र ?

दुई तिहाई छ, जनता साथमा छन्, कर्मचारी आफ्नै हातमा छ भन्दैमा मनपरी गर्नु त भएन नी । सरकारले जनताका पक्षमा, राष्ट्रियताका पक्षमा काम गर्दा हामीले समर्थन गरिरहेकै छौं । तर, यहाँ ओली सरकारले जनताका पक्षमा भन्दा पनी पार्टी र आफ्ना नेता कार्यकर्ताका पक्षमा काम गरिरहेको छ ।

लोकतन्त्रमा जनताले शान्तिपूर्ण तवरले सभा जुलुस गर्ने अधिकार कुण्ठित गरियो । माथेमा आयोगको प्रतिवेदनलाई तोडमोड गर्ने काम भयो । अघिल्लो सरकारले नियुक्त गरेकालाई गलहत्याउने काम भइरहेछ । जनता महंगीको मारमा छन्, दलाल र पुँजीपतिहरु मोटाइरहेका छन् । भ्रष्टाचार बढ्दो छ । यस्तो अवस्थामा कांग्रेस जिम्मेवार प्रतिपक्ष भएर टुलुटुलु हेरेर बस्न सक्दैन । ओली सरकार राजा ज्ञानेन्द्रको सरकार भन्दा निरंकूश हुँदैछ ।

भन्नुको तात्पर्य अहिले मुलुक २०५८ सालतिरकै अवस्थामा गइरहेछ ?

हिजोको ज्ञानेन्द्रको सरकारभन्दा पनि डरालाग्दो स्थिति बनाइसके प्रचण्ड र केपी ओलीले । सरकार उखान टुक्कामा मात्रै सीमित भइदियो । ठूल्ठूला सपना बाँडेर मात्र देशमा संबृद्धि आउँदैन । त्यसकालागि प्रत्यक्ष देखिनेगरी काम गर्न आवश्यक छ ।

काँग्रेस चुनावमा हार्नुको कारण चाहिँ के हो ?

सेन्टर कमिटिमा पाँच वर्षको अनुभवले मलाई लाग्छ सर्वप्रथम एमाले र माओवादी मिल्दा उनीहरु बलियो बने । दोस्रोे हामीले जनतालाई हाम्रा एजेण्डा बुझाउन सकेनौं, पार्टीलाई शशक्त रुपमा अगाडी परिचालन गर्न पनि सकेनौं । यसमा हाम्रै नेताहरुका पनि कमजोरी छन् । टिकट लिएका व्यक्तिले जिम्मेवारी नलिने र जितिसकेपछि गाउँमा नगई क्षेत्रमुखी हुँदा पनि हार भएको हो । इमान्दार वर्षौदेखि पार्टीका लागि काम गर्ने कार्यकर्तालाई चिन्न सकेनौं ।

यसमा पार्टी सभापतिको मात्रै दोष हो की अरुपनि छन् ?

हेर्नुस्, केहि पार्टीभित्रका माथिल्ला नेताहरुले पार्टी सभापतिका कारण नै हार ब्यहोर्नुर्पयो भन्ने गतल कुरा उठाएका छन् । मलाई लाग्दैन यसमा सभापतिको मात्रै हात छ । उहाँले त जतिसक्दो गर्नुभएकै छ नी । पार्टीभित्र गुट उपगुट चलाउने, चेन अफ कमाण्डमा नचल्ने, आफ्ना र कुरालाउनेलाई संरक्षण गर्ने अनी इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने कार्यले पार्टी कमजोर भएको हो । पार्टीभित्रको आन्तरिक कुरालाई सडकमा ल्याएर उछाल्दा हार भएको हो ।

अब पार्टीलाई अगाडि बढाउन के गर्नुपर्ला ?
अब कांग्रेसलाई तल्लो तहबाटै पुर्नसंगठित गर्दै लैजान आवश्यक छ । यसका लागि सदनमा हुनेले सदनमा गर्नुप¥यो । पार्टीमा हुनेले संगठन सुदृढिकणमा लाग्न आवश्यक छ । वडा, गाउँ नगर, क्षेत्र, जिल्ला र प्रदेश र केन्द्रसम्मै पुर्नसंरचनाको आवश्यक छ ।

आउँदो महाधिवेशनमा नेतृत्व परिवर्तनको अवस्था कत्तिको छ ?

मेरो विचारमा अहिले नेतृत्व परिवर्तन गर्ने अवस्था छैन । बाहिर कराउँदैमा नेतृत्व परिवर्तन हुने कुरा हैन । पार्टी सभापतिले सक्दो गरिरहनुभएको छ । नेतृत्व शेरबहादुरकै रहन्छ त्यसपछि भनेको सशांक कोइरालाको हुन्छ ।

तर, पार्टीका दोस्रो तहका नेताहरु नेतृत्व र पुस्ता नै परिवर्तनको माग गरिरहेका छन् नी ?

अब कसले के कुरा बोकेर हिँडिरहेको छ त्यो विषयमा म जान चाहन्न । तर, पार्टी नेतृत्व भनेको कसैले टप्प टिपेर राख्ने र फ्याँक्ने कुरा हैन । महाधिवेशनबाट निर्वाचित भएर आएको ब्यक्ति त्यत्ति सजिलै हट्ने कुरा आउँदैन । अब आउने महाधिवेशनले नै नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर म्याण्डेट दिन्छ भने त्यो पछिको कुरा हो । अहिले चैं कसैले भन्दैमा नेतृत्व परिवर्तन हुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *