इमरजेन्सी बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बहिष्कार गर्दै आवासीय चिकित्सक संघर्षमा

काठमाडौं, असार २९ । डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै आवासीय चिकित्सक संघर्षमा उत्रिएका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनमा आवद्ध चिकित्सकले आजदेखि इमरजेन्सी बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बहिष्कार गरेका छन् ।

डा. केसीको माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेकाले बाध्य भएर संघर्षमा उत्रनु परेको एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले बताउनुभयो । डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नहुँदासम्म सम्पूर्ण शैक्षिक गतिविधि बहिष्कार गर्ने डा. पाण्डेले उल्लेख गर्नुभयो ।

यसैबीच, नेपाल चिकित्सक संघ आवद्ध देशभरका चिकित्सकले आज पनि धर्ना, र्‍याली, विरोध लगायतका कार्यक्रम गरी डा. केसीको मागप्रति समर्थन जनाउँदैछन् ।

कालो पट्टी बाँधेर सेवा दिएरहेका चिकित्सक सहित स्वास्थ्यकर्मीले यही बुधवारदेखि धर्ना लगायतका कार्यक्रम गरिरहेका छन् ।  १३ दिनदेखि अनसनरत डा. केसीले अन्य औषधि लिन नमान्दा उहाँको उपचारमा कठिनाई भएको चिकित्सकले बताएका छन् ।

डा. केसीको छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको चाल तल माथि भइरहेको लगायत समस्या देखिएको उपचारमा संलग्न टोलीका चिकित्सक डा. पुजनकुमार रोकायाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *