भिसा लागे पनि मलेसिया जान नपाएका कामदारको विवरण संकलन हुँदै

काठमाडौँ, असार २८ । वैदेशिक रोजगार व्यवसायी संघले सबै प्रक्रिया पुरा गरे पनि मलेसिया जान नपाएका कामदारको तथ्याँक संकलन गर्न थालेको छ ।

मलेसिया दूतावासले भिसा जारी गरिसकेका कामदारको विवरण पठाउन संघले सबै म्यानपावर व्यवसायीलाई बिहिबार परिपत्र गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आगामी आइतबारसम्ममा कामदारको नाम, ठेगाना र राहदानी नम्बरसहितको विवरण पठाउन व्यवसायीलाई पत्र पठाएका हुन् ।

गत आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट व्यवसायीसँगको छलफलमा भिसा लागिसकेका कामदारलाई अन्तिम स्वीकृति दिन सकारात्मक भएका छन् । मन्त्री विष्टले तथ्याँक मागेपछि व्यवसायी कामदारको विवरण जुटाउन लागि परेका हुन् ।

सबै प्रक्रिया मिलिसकेका तथा प्रक्रियाका क्रममा खर्च समेत गरिसकेका कामदार रोक्दा मारमा पर्ने भएकाले खोल्न मन्त्रीलाई आग्रह गरिएको संघका अध्यक्ष गुरुङले बताए ।

मलेसियामा जाने कामदारलाई थप आर्थिक भार पार्ने गरी खडा भएका संस्था खारेज गर्ने निर्णय पछि मलेसियाको रोजगारी बन्द भएको छ ।

मलेसियाले अन्य प्रक्रिया मिलाइसकेको छैन भने नेपालले पुरानै प्रक्रियाबाट नपठाउने अडान राख्दै आएको छ । कामदारलाई अतिरिक्त भार नपर्ने गरी नेपाल कामदार पठाउन मलेसियासँग कुटनीतिक पहल भैरहेको श्रममन्त्री गोकर्ण विष्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *