डा. केसीको स्वास्यस्थिति अत्यन्तै नाजुक, एयरलिफ्टबाट आज काठमाडौं ल्याउने तयारी

काठमाडौं २८ असार । चिकित्सा शिक्षा सुधारका माग राखी १२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई सरकारले एयरलिफ्ट गरेर काठमाडौं लैजाने तयारी गरिरहेको छ । केसीको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बनेपछि सरकारले हेलिकप्टर जुम्ला पठाउन लागेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शय्यामा अनशन बसिरहेका केसीले भने सास रहेसम्म जुम्ला नछाड्ने अडान लिएका छन् । ‘सरकारले काठमाडौं लैजान हेलिकप्टर पठाउँदै छ भन्ने खबर पाएको छु,’ उनले भने, ‘म कर्णालीको पवित्र भूमिमै मर्न तयार छु, माग पूरा नभई काठमाडौं जान्नँ ।’

सरकारले बुधबारै केसीलाई काठमाडौं लैजान हेलिकप्टर पठाउने तयारी गरेको थियो । बुधबार दिउँसो ३ बजे काठमाडौंबाट हेलिकप्टर उड्ने तयारीमा थियो तर केसीले जुम्ला नछाड्ने पुरानै अडान दोहोर्‍याएपछि रोकियो । केसीलाई एयरलिफ्ट गर्न बिहीबार हेलिकप्टर जुम्ला आउने स्थानीय प्रशासनले जनाएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

केसीको स्वास्थ्यस्थिति दिनदिनै बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘केसीलाई तत्काल संक्रमणबाट बचाउन सुरक्षित स्थानमा राख्नुपर्ने हुन्छ,’ डा. प्रवीण गिरीले भने, ‘तर उनी अत्यावश्यक औषधि पनि लिन मानिरहेका छैनन् ।’ गिरीका अनुसार मानिसले एक–दुई दिन खाना नखाँदा नै स्वास्थ्यस्थिति तत्कालै बिग्रन्छ । डा। केसीले १२ दिनदेखि मुखबाट केही खाएका छैनन् । मुटुको चाल तलमाथि भइरहेकाले जतिखेर पनि जे पनि हुन सक्ने डा. गिरीको भनाइ छ ।

चिकित्सकका अनुसार डा।केसीको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । त्यस्तै मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुखाइ बढ्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, रगतमा सेतो रक्तकोषिका क्रमिक रूपमा घटदै जाने, पिसाब नहुने समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि केसीले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् ।

यसअघि केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको टोली जुम्ला पठाएको थियो । तर, केसीले उनीहरूबाट उपचार सेवा नलिने जनाएपछि टोली फर्किएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सक्षम भएकाले उनीहरूले नै आफ्नो उपचार गर्ने केसीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =