इङल्याण्डलाई पराजित गर्दै क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौँ, असार २८ । क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।

१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ ।

बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ । सन् १९६६ पछि विश्व कप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन ।

मान्डुकिजले थप ३० मिनेट समयको २१ औं मिनेटमा गोल गरेका थिए । इभान प्रिसिसले हेडमार्फत दिएको पासलाई मान्जुकिजले गोलमा परिणत गरेका थिए । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो ।

६८ औं मिनेटमा प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । सिमे भ्रासल्ज्कोको क्रसमा प्रिसिसले गोल गरेका थिए ।

खेलको पाँच मिनेटमा इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । केरन ट्रिपेयरले पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्सको केहि बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका थिए ।

यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपेयरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *