सुन तस्करी प्रकरणमा पत्रकार पनि मुछिए

काठमाडौं, असार २७ । सुन तस्करीमा संलग्नता रहेको भन्दै पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरिएको छ । सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ ।

यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग पत्रकार अधिकारीको पनि कनेक्सन रहेको आरोपमा समितिले उनलाई पक्राउ गरेको हो ।

सोही घटनामा समितिले दिनेश घिमिरे र दीपक श्रेष्ठलाई पनि पक्राउ गरेको छ । अधिकारीलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ भने घिमिरेलाई प्रहरी वृत्त, कमलपोखरी र श्रेष्ठलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

हिन्दू साप्ताहिकका प्रकाशक पवन थापा कुन्तलले आफ्नो पत्रिकाका तर्फबाट गणेशप्रसाद अधिकारी नाम गरेका कुनै व्यक्तिलार्इ सूचना विभागको प्रेस पासका लागि सिफारिश नभएको दाबी गरेका छन् ।

अनुसन्धान समितिले भने पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *