कामदारको न्युनतम तलव २२ हजार नपुर्याए आन्दोलन गर्ने ट्रेड युनियनको चेतावनी

काठमाण्डौँ,असार २७ । सरकारले घोषणा गरेको केहि दिनमै न्युनतम पारिश्रमिक कम भएको भन्दै विभिन्न ट्रेड युनियनले सच्याउन दवाव दिएका छन् ।

साउन १५ गतेभित्रमा २२ हजार तलव नपुर्याए आन्दोलन गर्ने ट्रेड युनियनले चेतावनी दिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तीनदिन अघि घोषणा गरेको १३ हजार ४ सय ५० तलव कम भएको भन्दै सरकारमै रहेका दल निकट ट्रेड युनियनको असन्तुष्टि छ ।

न्युनतम २२ हजार तलव सबै कामदारको हकमा साउन १ गतेबाट लागु गर्नु पर्ने र नगरे आन्दोलन थाल्ने चेतावनी उनीहरुले दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ, मधेशी ट्रेड यूनियन महासंघ, नेपाल ट्रेड यूनियन महासंघ स्वतन्त्र, राष्ट्रिय कर्मचारि महासंघ, नेपाल समाजवादी ट्रेड यूनियन महासंघले र नेपाल ट्रेड यूनियन फेडेरेशनले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

नेपालको संविधानअनुसार प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र श्रमिकलाई उचित पारिश्रमिकमा आधारित सामाजिक सुरक्षाको हक मौलिक हकमा व्यवस्था भए पनि १३ हजारले नपुग्ने उनीहरुको भनाई छ ।

सरकारको यो निणर्यले स्वदेशमै काम गरिरहेका श्रमिकहरु विदेशिनु पर्ने अवस्था सिर्जना गर्ने र जीवन धान्न नसक्ने ट्रेड युनियनले दावी गरेका छन् । पूर्व सहमतिअनुसार सामाजिक सुरक्षा कोषको रकम २०६७ देखिकै जम्मा गर्नुपर्ने पनि उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *