“””केसीलाई काँग्रेसले उचालेको छैन””–पाण्डे”

काठमाडौं, असार २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग जनताको पक्षमा भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले डा. गोविन्द केसीले चिकित्सा शिक्षाका लागि उठाएका मागहरु कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका हुन् ।

माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको आरोप लगाए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

केसीलाई कांग्रेसले उछालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने,“केसीलाई हामीले उचालेका छैनौँ । उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होईन । त्यो अवस्था आइसकेको छैन । कांग्रेस कमजोर छैन । जनताको हितमा भएका जायज मागको पक्ष लिएका मात्रै हौँ ।”

प्रधानमन्त्री केपी ओलीले केसीको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै पाण्डेले अधिनायकवादको संकेत देखिन थालेको जिकिर गरे । “प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, कोही एउटा व्यक्ति मर्छ भन्दैमा माग पूरा गर्न सकिँदैन । कोही व्यक्ति यति भाग्यमानी छन् कि जुम्लातिर गएर सुतेपनि ठूला–ठूला समाचार बन्छन् । यस्तो भनाई सर्वसत्तावाद नभए के त ?” पाण्डेले प्रश्न गरे ।

आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद भएको उनको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *