“””मार्सी भात”” गलत विम्वका रूपमा स्थापित नहोस्– रविन्द्र मिश्र”

काठमाडौँ, असार २७ । चिकित्सा स्वास्थ्य सुधारको माग राख्दै डा. गोविन्द केसी १२ दिनदेखि अनशनमा छन् । चिकित्सा शिक्षा सुधारका लागि राष्ट्रिय नीति निर्माणका विषयमा विगतमा गरिएका सम्झौता र प्रतिबद्धता कार्यान्वयनमा सरकार इमान्दार नभएकाले नै उनी आमरण अनशन बसेका हुन् ।

अनशन बसेको १२ दिन भइसक्दा पनि सरकारले यसलाई सकारात्मक रुपमा हेरेको अवस्था छैन् । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार ब्याक नहुने अडान लिएका छन् । साथै प्रधानमन्त्रीले राजनीति गर्ने भए पार्टी खोल्न केसीलाई चेतावनी समेत दिएका थिए ।

चिकित्सा शिक्षाकै विषयमा तत्कालीन सरकार र डा. गोविन्द केसीबीच जुहारी चलिरहँदा यसमा “”मार्सी चामलको भात”” घुसेको पाइएको छ ।

नेकपाका दुई शिर्ष नेतासँग निकट झापाको बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँको घरमा खाएको मार्सी चामलको भात र अन्य परिकारको फोटो सहित नै यसलाई मजाकमा उडाइएको थियो । यसले सामाजिक सञ्जालमा पनि राम्रै खिचडी पकाइरहेको छ । कतिले सरकारको समर्थन गरेका छन् त कतिले डा.गोविन्द केसीको ।

यसै प्रसंगमा विवेकशिल साझा पार्टीका नेता रविन्द्र मिश्रले मार्सी चामललाई गलत विम्ब नबनाइयोस् भन्ने विचार सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

उनको विचार विस्तृतमाः

‘मार्सी भात’ गलत विम्व नबनोस्ः

एउटा समय थियो जतिबेला एउटा ठूलो राजनीतिक खेमाले धन हुनेजति सबैलाई सामन्ति र शोषकका रूपमा चित्रित गर्यो । त्यसको असर समाजमा अझै बाँकी छ ।

जबकी राजनीतिको उद्देश्य नै व्यक्ति, समाज र देशलाई संवृद्ध बनाउनु हो, सही बाटोबाट सक्दो धन कमाउन प्रेरित गर्नु हो । तर ‘धन’ नै त्यो समयमा गलत विम्वको रूपमा प्रयोग भयो। सही तरिकाले धन कमाउनेहरू पनि सामन्ति र शोषक कहलिए र उनीहरूसँग सो राजनीतिक खेमाले त्यस्तै व्यवहार गर्यो ।

त्यसैगरी अहिले सन्दर्भवस देशभरी मार्सी भातको विम्व फैलिएको छ । यस्तो छाप फैलाइएको छ कि मार्सी भात भनेको धनाड्य, माफिया, फटाहाहरूले खाने खाना हो ।

हामीले मार्सीजस्ता धानहरू त नेपालमा सक्दो प्रवर्धन गर्नु पर्छ । जुम्लाको मार्सीजस्तै देशका अन्य कयौं ठाउँहरूमा रैथाने जातका अग्र्यानिक (जैविक) भन्न मिल्ने धानहरू, काला नमक (कपिलवस्तु), तिल्को (दाङग), चननचुर (सप्तरी), जेठो बुढो (पोखरा), जोरायल बासमति (डोटी), लल्का बासमति (बारा, पर्सा) आदी फल्दछन्।

धानविद् डा भोलामान सिंह बस्नेतका अनुसार हाल नेपालमा चार प्रतिशतमात्र रैथाने धान फल्छ र बाँकीलाई विकासे धानले प्रतिश्थापन गरिसक्यो, जुन दुखको कुरा हो ।

त्यसैले यस्तो वातावरण बन्न नदिउँ जहाँ मार्सी या रैथाने चामलको भात खानेजति सबै व्यंगका पात्र बनुन्। सकेदेखि त चामलका हकमा मात्र होइन, अन्य खाद्य उत्पादनका हकमा समेत सिँगो देशलाई अग्र्यानिक (जैविक) बनाउने हाम्रो उद्देश्य हुनुपर्छ। ‘मार्सी भात’ गलत विम्वका रूपमा स्थापित नहोस्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *