नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने

काठमाडौं, असार २६ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार उनीहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । भेटमा उनीहरुबीच नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताए।

उनले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने बताए ।

उनले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुनःनिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गदै नेपालको भौतिक, आर्थिक, मानव संशाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विकासमा जापानको सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानका बुद्ध धर्मावलम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको धारणा व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराए ।

भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *