दक्ष श्रमशक्तिको निर्माणका लागि विश्व बैंक र मन्त्रालयबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ, असार २६ । नेपालमा श्रमिकको श्रम क्षमतामा बृद्धि गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विश्व बैंकबीच भेटवार्ता भएको छ ।

मंगलबार श्रम मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच. हाडेड जेभोस र श्रम मन्त्री गोकर्णराज विष्टबीच भेटवार्ता भएको हो । श्रम मन्त्री गोकर्णराज विष्टले श्रमिकको क्षमतामा वृद्धि गर्न तालिम केन्द्रको क्षमता अभिवृद्धि गरिने बताए ।

“देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि भएको साझेदारी अझ विस्तारित र सुदृढ हुनेछ ।” मन्त्री विष्टले भने ।

जेभोसको मन्त्रालयको प्राथमिकताहरुबारे मन्त्रीसँगको जिज्ञासामा नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रममा रोजगारी अभिबृद्धि र मानव संशाधन विकासलाई उच्च प्राथमिकता दिइएको मन्त्री विष्टले उनलाई जानकारी गराए ।

नेपालमा हाल उत्पादनशील उमेर समुहका युवाको बाहुल्यता भएपनि उत्पादनमूलक रोजगारीका अवसरको अभावमा नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको सन्दर्भमा युवाहरुलाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालिम केन्द्रको सुदृढिकरण गर्ने कार्य समेत सरकारले प्राथमिकता दिइरहेको छ ।

सबै स्थानीय तहमा रोजगार सूचना केन्द्रको स्थापना गर्नेगरी तयारी भइरहेको जानकारी दिँदै मन्त्रालयका सचिव महेशप्रसाद दाहालले श्रमिकको सीप विकासका लागि तालिम केन्द्रको सुदृढिकरण र सञ्चालन आदि क्षेत्रमा विश्व बैंकको सहकार्य हुनसके श्रम तथा रोजगारीका क्षेत्रमा ठोस नतिजा प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

छलफलमा जर्भाेसले मन्त्रालयले अघि सारेका प्राथमिकताका क्षेत्रहरुमा विश्व बैंकको तर्फबाट निरन्तर सहयोग र साझेदारी रहने विश्वास दिलाएका छन् । (रासस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *