डा. सुन्दरमणि भन्छन् ‘जागिर खाएर अनसन बस्नु ठिक भएन’

एउटै कामका लागि १५ पटक एटम बम हान्नु पर्यो भने उनको पनि कहिँ कमजोरी छ भन्ने बुझ्न जरुरी छ

काठमाडौँ, असार २६ । डा. गोविन्द केसी १५ औं पटक आमरण अनसनमा छन् । सरकारले वार्ताका लागि पहल गरिरहेको छ । तर उनले मानिरहेका छैनन् । उनी आफ्नै मागमा अडिग हुनुहुन्छ । उनका माग प्रति म आफैं पनि पूर्णरुपमा सहमत हुन सक्दिन । माथेमा आयोगको प्रतिवेदनलाई आधार मानेर केसी त्यसबाट दायाँवायाँ गर्न दिएका छैनन् ।

एउटा आयोग जतिसुकै विज्ञ रहेको भएपनि ५/६ वर्ष पहिले तयार गरेको प्रतिवेदन अहिले जस्ताको तस्तै कार्यन्वयन हुनुपर्छ भन्नु हुँदैनथ्यो । संविधान त परिवर्तनीय हुन्छ भने एउटा आयोगको प्रतिवेदन फेरबदल नहुने भन्ने हुन्छ र !

त्यसो हो भने हामी चुनाव किन गर्ने ? नयाँ सरकार किन ल्याउने ? जनताले आफूले चाहेको सरकार बनाउन पूराना पार्टीलाई किन हटाउने ? हामीले पुराना सबै ल्याउँ । पञ्चायत पनि ल्याउँ, राजा पनि । परिवपर्तन भनेकै प्रगती हो, सुधार हो ।

कहिल्यै पनि परिवर्तनलाई रोक्न मिल्दैन । माथेमा आयोगको प्रतिवेदन पनि भगवानको देन हैन । राजनीतिक दलहरुकोबीचमै सहमती भएर तयार भएको हो । अब त्यो पुरानो भैसक्यो ।

त्यतिबेला नेपालको अवस्था अर्कै थियो । हामी संघीयतामा गएका थिएनौं । अब संघीयतामा गइसक्यौं । शिक्षा, स्वास्थ्य जस्ता विषय त प्रदेशको हातमा आइसक्नु पर्ने हो । अहिले लामो समयपछि दिगो सरकार आएको छ, दुई तिहाई मतपाएर । उसले अलिकति पनि परिवर्तन गर्न नसक्ने भन्ने हुन्न ।

नागरिकको भावना भनेको डा.केसीको अनुहार हेरेर र माइतीघर मण्डलामा बसेका १० जनालाई हेरेर मात्रै बुझिँदैन ।

सरकारले भर्खर एक सय दिन काम गरेको छ । के त्यसो भए अब सरकारले पाएको मतको औचित्य सकियो त ?

जनता सबै गोबिन्द केसीको पक्षमा लागे भन्ने त हैन नि । उनको पछि मात्रै कुदेर हुँदैन, अर्को पाटो पनि हेर्नुपर्यो । केसी डाक्टर हुन् । टिचिङ हस्पिटलमा काम गर्न उनले पदभार स्वीकार गरेका छन् ।

सही गरेर उनले पद लिएका छन् । त्यस वापत सर्जरी गर्ने, अप्रेशन गर्ने अनुसन्धान गर्ने विद्यार्थीलाई पढाउने, आफ्नो अनुसन्धान अन्तर्राष्ट्रिय म्याग्जिनमा छपाउने उनको दायीत्व हो ।

एउटा प्रोफेसर सुतेर बस्दा अनसन गरेर बस्दा देशलाई पनि फाइदा गर्दैन । डाक्टरले १० दिन काम गरेन भने उसकै क्षमता पनि खस्किन्छ । राजीनामा दिएर आउँछन् भने ठिकै छ । समस्या भएन तर तर जागिर खाएर अनसन बस्नु ठिक भएन ।

केसी खाली मृत्यु, मृत्यु, मृत्यु भनेर सरकारलाई तर्साउन खोजिरहेका छन् । किन खालि उनले यस्तो कुरा गरिरहेका छन्, बाँच्ने कुरा गरौं न ।

डा. केसीले जवाफ दिनुपर्छ आफ्नो डिपार्टमा कतिवटा रिसर्च गराए । कतिवटा अनुसन्धान सम्पन्न भए उनको नेतृत्वमा । अनसन बसेको अवधिमा ५ वर्षमा कति काम गरे ।

सरकारी अस्पतालले नगरेका कतिपय राम्रा काम निजी अस्पतालले पनि गरेका छन् । यस्ता काम गर्नु पर्यो । यी काम मण्डलामा प्लेकार्ड बोकेर हुँदैन । प्रोफेस्नलको काम भनेको आफ्नो संस्थाका अन्तर्राष्ट्रियरुपमा इज्जत बढाउने पनि हो ।

अनसन बस्नु ठिक छ । तर अनसन बसेको १५ पटक भैसक्यो । यो एटम बम नै हो लोकतन्त्रमा । एउटै कामका लागि १५ पटक एटम बम हान्नु पर्यो भने उनको पनि कहिँ कमजोरी छ भन्ने बुझ्न जरुरी छ ।

प्राध्यापक हो, उनले तर्कले विश्वास जित्नुपर्छ । टेबलमा बसेर गर्नु पर्थ्याे एकेडेमिक मान्छेले । विदेशमा पनि यसैगरी तथ्याँकले जितेर काम हुने हो । डाक्टरले गर्ने यो तरिका ठिक भएन । भूकम्प पीडितहरु कराइरहेका छन्, राहतका लागि । उनीहरु बाँच्न चाहन्छन् तर केसी किन मृत्यु रोजिरहेका छन् ? न्यायालय छ, त्यहाँ आउन् ।

तर गोबिन्द केसीका कारण विरामीको उपचार पाउने हकमाथी खेलवाड हुनु हुँदैन ।

(वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. दिक्षितले एक टेलिभिजन कार्यक्रममा गरेको वहसको सम्पादित अंस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *