पर्यटन सेवालाई सशक्त बनाउन संयुक्त पर्यटन ‘रिफ्रेसमेन्ट’ शुरु

काठमाडौँ, असार २५ । पर्यटन सेवालाई थप सशक्त बनाउन पर्यटन श्रमिकहरुको क्षमता अभिवृद्धि तालिम राजधानीमा सुरु भएको छ ।

‘पेशा वा व्यवसायमात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे विज्ञहरुले कक्षामा प्रष्ट पार्नेछन्’, कार्यक्रम संयोजक अशोक सिलवालले भने ‘क्वान्टिीटी टुरिजमको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिजमको लागि जोड दिनेछ ।’

तालिममा कम्तीमा पनि १ सय पचास पर्यटन श्रमिकलाई पर्यटनसँग सम्बन्धित दर्जन बढी विषयमा विज्ञहरुले समय अनुसार बदलिएको यस क्षेत्रको सीमा र सम्भावनालाई अपडेट गर्नेछन् ।

नेपाल पर्यटन बोर्डको प्रायोजन तथा पर्यटन क्षेत्रमा कार्यरत तीनओटा आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम ६ दिनसम्म सञ्चालन हुनेछ । तालिममा ३० वटा कक्षा समावेश गरिएको छ ।

कार्यक्रममा पर्यटन, पर्यटक सत्कारको संस्कृति, पथ प्रदर्शनको इतिहास, क्राइसिस व्यवस्थापन, ट्रेकिङ गियर, प्राथमिक उपचार, हाई अल्टिच्युड सिकनेस, उच्च हिमाली जोखिम, हिमाली मौसम र सुरक्षा, हिमपहिरो, धर्म–संस्कृति, पर्यटन नीति नियम, हेलिकप्टर रेस्क्यु, फ्लोरा–फाउना, पर्यटनका लागि पर्यटन प्रहरी, पर्यटन श्रमिकको भुमिका, ट्रेड युनियन, गाइडिङ टेक्निक, टुरिजम आइडिया, जर्नी एन्ड जर्नलिजम, पर्यटन अर्थशास्त्र जस्ता विषयमा कक्षा सञ्चालन हुनेछन् ।

कार्यक्रम सिंगो नेपाली पर्यटनको स्तत्तरोन्नतिको लागि आयोजना गरिएको युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताए । नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल) ले जिम्मेवार पर्यटनका लागि यता तालिमले महत्वपूर्ण योगदान दिनुका साथै भ्रमण बर्ष २०२० को लागि दक्ष जनशक्ति निमार्णमा पनि मद्धत पुग्नेमा जोड दिए ।

विभिन्न विचारका पर्यटन श्रमिक संगठनहरु एक ठाउँमा उभिएर गरिएको यो संयुक्त कार्यक्रमले फुटेर होइन जुटेर अगाडि बढ्न सकिन्छ भन्ने सन्देश प्रकट गर्ने अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले बताए । सोमबारदेखि सुरु हुने कार्यक्रम शनिबार समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *