सहसचिव–उपसचिवमा अब खुलाबाट भिड्न नपाईने

काठमाडौँ, असार २५ । निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागेको हो ।

मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट गर्नेगरी विधेयक मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

१० प्रतिशत अन्तरसेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिशत ज्येष्ठताका आधारमा सहसचिव उपसचिव पदपूर्ति गर्ने अर्थ मन्त्रालयको प्रस्तावलाई मन्त्रालयले आत्मसात गर्न लागेको हो। कानुन मन्त्रालयले अर्थको समेत सहमति लिएर प्रस्तावित विधेयक रायका लागि पेश गर्न सुझाएको थियो ।

अर्थले ‘अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा १० र ज्येष्ठताका आधारमा ९० प्रतिशत सहसचिव–उपसचिव पदपूर्ति गर्न उपयुक्त हुने सुझाव असार १४ मा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो । अर्थले ‘आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत पदपूर्ति गरिने’ प्रस्ताव हटाउन भनेको छ।

कतिपय प्रशासकले भने सहसचिव–उपसचिव पदमा खुला प्रतियोगितालाई निषेध गर्न नहुने टिप्पणी गरेका छन्। ‘खुलाको ढोकै बन्द गर्नुचाहिँ हुँदैन,’ पूर्वसचिव डा.शान्तराज सुवेदीले कान्तिपुरसँग भने, ‘कम्तीमा १० प्रतिशत खुलाका लागि राख्दा राम्रो हुन्छ।’

उनले ज्येष्ठतालाई मात्र बढी प्रतिशत कायम गराउँदा आन्तरिक र अन्तरसेवाका राम्रा प्रतिस्पर्धीले अवसर नपाउने जिकिर गरे। ‘ज्येष्ठतालाई ५० प्रतिशत दिएर अरू आन्तरिक, अन्तरसेवा र खुलाका लागि छुट्याउनु वैज्ञानिक हुन्छ,’ सुवेदीको सुझाव छ।

प्राविधिक र न्याय सेवाबाहेक समूहमा खुलाबाट प्रतिस्पर्धा गर्न ‘ब्रिलियन्ट’ उम्मेदवार आकर्षित नदेखिएकाले खुलालाई बढी जोड दिन नहुने राय पनि कतिपय जानकारको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *