लामो समयसम्म बोल्न सक्ने अनन्तराम केसीले थाले नयाँ विश्व कीर्तिमानको तयारी

काठमाडौं,असार २४ । प्रखर वक्ता अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गरेका केसीको अभियानलाई सफल बनाउन जोरपाटीमा वृहत छलफल गरी विभिन्न समितिहरु गठन गरिएको छ । सामाजिक अभियन्ता कुमारराज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।

कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए भने केसीले विगतको प्राविधिक त्रुटीलाई सच्याएर यसपक विश्व कीर्तिमान राख्ने दृढता व्यक्त गरेका छन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएपनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *