फुजेल हत्याकाण्ड : हत्याकाे आरोप लागेका पौडेलले गरे आत्मसमर्पण

काठमाडौं, असार २४ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

६८ वर्षका पौडेल आइतबार आफैं सर्वोच्च अदालतमा उपस्थित भई थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका छन् । लगत्तै अदालतको आदेशले पौडेललाई डिल्लीबजार कारागारमा थुनामा पठाइएको अदालतले जनाएको छ ।

अधिकारीको हत्यामा पौडेललाई दोषी ठहर गरेपछि उनलाई सर्वोच्चले २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

त्यसअघि उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१मा धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गरेलगत्तै सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।

मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसाद अधिकारीको निधन भएको थियो ।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *