अहिलेसम्मकै बृहत बन्दै १२ औं शैक्षिक मेला

काठमाडौँ, असार २४ । यही साउन ३, ४, ५ र ६ गते काठमाडौँको भृकुटिमण्डपमा हुन लागेको १२ औं शैक्षिक मेला अहिलेसम्मकै बृहत बन्ने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले गर्न लागेको उक्त शैक्षिक मेलामा विदेशका विश्वविद्यालय लगायत इक्यानमा सम्लग्न कन्सल्टेन्सीहरु, विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा भेला गर्ने भएकाले यसलाई अहिलेसम्मकै बृहत शैक्षिक मेला मानिएको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए ।

आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भने, ‘मेलाले विदेश जान चाहने विद्यार्थीका अभिभावकहरुलाई एकै ठाउँमा स्वदेश र विदेशका परामर्शदाताहरुबाट परामर्श दिइनेछ ।’

अहिलेको डिजिटल युगमा किन शैक्षिक मेला आवश्यक भन्ने पत्रकारहरुको प्रश्नमा पाण्डेले चार दिनसम्म हुने मेलामा डिजिटल मिडियाको माध्ययमबाट प्रभावकारी रुपमा सुचना प्रवाह गरी विद्यार्थीहरुसँग सुचना प्रवाह गराउने जानकारी गराउँदै विदेशमा अध्ययनपश्चात नेपालका सम्भावनाका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराइने उनले बताए ।

सो अवसरमा शैक्षिक मेलालाई प्रत्यक्ष रुपमा सघाउँदै आएको ब्रिटिस काउन्सिलका व्यवस्थापक प्रमुख विक्रम गुरुङले आगामी वर्ष पनि काउन्सिलको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।
इक्यान मेलामा एक लाखभन्दा बढीलाई अवलोकन गराइने अपेक्षा गरिएको छ ।

यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शिक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साइप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

नेपाली विद्यार्थीहरुलाई भावी सम्भावना तथा अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रबृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको उदेश्य हो ।

के छन् मेलाका विशेषता ?

विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श दिनु इक्यानको प्रमुख विशेषता हो । एक लाखभन्दा बढी सहभागीहरुलाई उपस्थित गराउने उदेश्य यसले राखेको छ ।

मेलामा विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोगहरुलाई समेत उपस्थितिको लागि इक्यानले आग्रह गरेको छ । मेलामा विभिन्न शैक्षिक गन्तव्यका देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।

मेला कसका लागि ?

विशेष गरी विदेशमा अध्ययन गर्न जाने विद्याथीहरुका अभिभावकका लागि मेला लक्षित छ । विदेशमा अध्ययन गर्न जाँदाका सम्भावना, चुनौति लगायतका विषयमा अभिभावकहरुलाई जानकारी गराइनेछ ।

मेलामा कतिवटा स्टल छन् ?

मेलामा जम्मा ३८८ वटा स्टलहरु राखिनेछ ।

इक्यान कस्तो खाले संस्था हो ?

यो पूर्ण गैर नाफामूखि संस्था हो । यसले नाफामुलक रुपमा काम गर्ने संस्थाहरुको हितका लागि काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *