शुल्कवृद्धिको आरोपमा कार्यकक्षमै थुनिए क्याम्पस प्रमुखसहित ५ जना

विराटनगर, असार २४ । शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थी संगठनले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसका प्रमुखसहित पाँच जनालाई कार्यकक्षमै बन्द गरिदिएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई बिहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।

क्याम्पस प्रशासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् ।

यी तीन विद्यार्थी संगठनले मूल्यवृद्धिको आरोपमा विराटनगरस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा बन्द गरिदिएका हुन् ।

क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नवीन पहाडीले बताए ।

महेन्द्र मोरङ क्याम्पसमा १७ वटा विषयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले दिएको छात्रवृत्ति पनि क्याम्पसले नदिएको अरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =