२८ वर्ष पछि इङ्ल्याण्ड सेमिफाइनलमा, स्वीडेनको विश्वकप यात्रा टुङ्गियो

“
काठमाडाैं, असार २३ । विश्वकप फुटवलमा स्वीडेनको यात्रामा पूर्णविराम लाउँदै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । १२ वर्षपछि फर्किएको स्वीडेन २–० ले पराजित हुँदै घर फर्कियो । समूह विजेता बन्दै स्वीजरल्याण्डलाई पराजित गरेको स्वीडेनले इङ्ल्याण्डलाई भने हराउन सकेन ।
खेलको ३१ औं मिनेटमै इङ्ल्याण्डले अग्रता लिएको थियो । ह्यारी मगुइरले हेड मार्फत गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको इङ्ल्याण्डले दोश्रो हाफमा पनि १ गोल थप्यो त्यो पनि हेड मार्फत नै । खेलको ५९ औं मिनेटमा गोल गर्दै डेली अलीले अग्रता इङ्ल्याण्डलाई जीत उन्मुख बनाएका थिए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम क्वाटर फाइनलमा स्थान बनाएको इङ्ल्याण्ड सेमिफाइनलमा पुग्यो ।
यी दुई टोली पहिले भएका १२ भेट स्वीडेनको पक्षमा भएपनि इतिहासले काम गरेन । पहिलेका ६ खेल बराबरीमा,स्वीडेन ४ खेल र इङ्ल्याण्डले दुई खेलमा विजयी भएका थिए ।
यसअघि यी दुई टोलीबीच भएका विश्वकप छनोट र समूह चरणका चारै खेल बराबरीमा टुङ्गिएका थिए । इतिहासलाई तोड्दै विश्वकपमा इङ्ल्याण्डले पहिलो जीत दर्ता गरेको हो ।
समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । इङ्ल्याण्डलाई हराएको बेल्जियम ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।
यो विश्वकपमा ६ गोल गरिसकेका इङल्याण्डका ह्यारी केन गोल्डेन बुटको होडमा सबैभन्दा अगाडी छन् । विश्वकपमा इङ्ल्याण्डको १५ औं सहभागीता हो ।
उ अहिलेसम्म एक पटक उपाधि जितेको छ भने एक पटक सेमिफाइनलबाटै बाहिरिएको छ । इङ्ल्याण्डले १९६६ मा विश्वकपको उपाधि उचालेको हो । यो इङ्ल्याण्डको तेश्रो सेमिफाइनल यात्रा हो ।
आजै राति पौने १२ बजे हुने अन्तिम क्वाटर फाइनलको खेलमा क्रोएसिया र रुस भिड्दै छन् । यो खेलको विजेतासँग इङ्ल्याण्डले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
अर्को सेमिफाइनल खेल फ्रान्स र बेल्जियमकाबीचमा हुनेछ ।








