१२ वर्षपछि विश्वकपमा फर्किएको स्वीडेनले पन्छाउला इङ्ल्याण्डलाई ?

“
काठमाडाैँ । विश्वकप फुटबलको क्वाटरफाइनलमा आज पौने ८ बजे युरोपेली देश इङ्ल्याण्ड र स्वीडेन भिड्दै छन् । स्वीडेन स्वीजरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।
दुवै टोलीले समूह चरणमा समान दुई जीत र एक खेलमा बराबरी गर्दै अघिल्लो चरणमा स्थान बनाएका थिए ।
यी दुई टोली बिच १२ पटक भेट भएको छ । जसमा ६ खेल बराबरीमा सकिएका छन् भने ४ खेल स्वीडेनले जितेको छ । इङ्ल्याण्डले दुई पटक मात्रै जित्न सकेको छ । पछिल्लो पटक सन् २०१२ मा यी दुई टोलीबीच मैत्रीपूर्ण खेलमा भेट भएको थियो ।
त्यसमा स्वीडेन ४–२ गोल अन्तरले विजयी भएको थियो । तर त्यहि वर्ष भएको युरो कपमा भने इङ्ल्याण्डले स्वीडेनलाई ३–२ गोलले पराजित गरेको थियो ।
विश्वकप फुटबलमा यी दुई टोली ४ पटक भेट भएका छन् । जसमा चारवटै खेल बराबरीमा सकिएका छन् । सन् २०८८ र ०८९ मा भएका दुई भेटमा दुवै खेल गोलरहित बराबरीमा सकिएका थिए ।
सन् २००२ को विश्वकपमा पनि समूहचरणमा यी दुई टोलीको भेट भएको थियो । जसमा १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछि सन् २००६ मा यी टोलीको भेट भयो । यो खेल पनि २–२ गोलको बराबरीमा सकिएको थियो ।
यसअघिका भेट समूह चरणमा भएकाले बराबरी खेल्ने छुट भएपनि आजको खेलमा भने दुवैलाई जीत आवश्यक छ । समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो ।
इङ्ल्याण्डलाई हराएको बेल्जियम ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । तर स्वेडनलाई हराएको जर्मनी भने समूह चरणबाटै बाहिरियो ।
स्वीडेनविरुद्ध इङ्ल्याण्डका ह्यारी केन मुख्य हतियार हुने छन् । यो विश्वकपमा ६ गोल गरिसकेका केन गोल्डेनबुटको होडमा सबैभन्दा अगाडी छन् । कोलम्बियालाई घर फर्काउँदा पनि उनले नै इङ्ल्याण्डका लागि एक गोल गरेका थिए ।
उता स्वीडेनलाई भने एमिल फोब्र्सबर्गले स्वीट्जरल्याण्डविरुद्ध गोल गर्दै अघि बढाएका हुन् । विश्वकपमा इङ्ल्याण्डको १५ औं सहभागीता हो ।
उ अहिलेसम्म एक पटक उपाधि जितेको छ भने एक पटक सेमिफाइनलबाटै बाहिरिएको छ । इङ्ल्याण्डले १९६६ मा विश्वकपको उपाधि उचालेको हो ।
एक पटक फाइनलमा पुगेको स्वीडेन भने उपाधि विहिन छ । १९५८ मा फाइनलको यात्रा तय गरेको स्वीडेनले उपाधि चुम्न सकेको थिएन ।
सेमिफाइनलमा भने स्वीडेन चार पटक पुगेको छ । पछिल्लो पटक सन् २००६ मा विश्व्कप खेलेको स्वीडेन १२ वर्ष पछि विश्वकपमा फर्किएको हो ।
“








