दोस्रो टी–ट्वेन्टी खेलमा इंग्ल्याण्डद्वारा भारत पराजित

काठमाडौं, असार २३ ।  शुक्रबार कार्डिफको सोफिया गार्डेन्समा भएको दोस्रो टी–ट्वेन्टी खेलमा इंग्ल्याण्डले भारतलाई पाँच विकेटले हराएको छ । तीन खेलको श्रृङ्खलामा इंग्ल्याण्डले एक–एकको बराबरी गरेको छ । पहिलो टी–ट्वेन्टीमा भारतले इंग्ल्याण्डलाई ८ विकेटले हराएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । भारतीय टिमको सुरुवाति प्रदर्शन भने निराशाजनक रह्यो । दोस्रो ओभरको अन्तिम बलमा ज्याक बलको बलमा जोस टेलरबाटै क्याचआउट भए रोहित शर्मा ।

उनले केबल ५ रन मात्रै जोडे । त्यसपछि शिखर धवन र केएल राहुलले रन बनाउन खोजे पनि पाँचौ ओभरमा धवन पनि १० रन बनाएर आउट भए । धवनपछि केएल राहुल पनि लियाम प्लंकेटको बलमा क्लिन बोल्ड भए । उनी पनि ६ रन बनाएर आउट भए । भारत छैटौँ ओभर सकिँदा ३ विकेट गुमाएर २२ रन बनाएको अवस्थामा थियो ।

त्यसपछि भारतीय ब्याटिङ लाइनलाई सुरेश रैना र विराट कोहलीले सम्हाल्ने प्रयास गरे । १३ औँ ओभरमा सुरेश रैना २७ रन बनाउँदा स्टम्प आउट भए । त्यसपछि महेन्द्रसिंह धोनी र विराटले भारतको स्कोर अघि बढाए । १८ औँ ओभरमा विराट ३८ बलमा ४७ रन बनाउँदै आउट भए । धोनीले नटआउट ३२ रन बनाए । त्यस्तै हार्दिक पाण्ड्याको नटआउट १२ रनमा भारतले आफ्नो स्कोर १४८ रन पुर्यायो ।

१४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै जित हात पार्यो । इंग्ल्याण्डका लागि एलेक्स हेल्सले सर्वाधिक ५८ रन बनाए ।

म्यान अफ् द म्याच समेत बनेका उनले ४१ बलमा ४ चौका र ३ छक्काको सहयोगले ५८ रन बनाएका हुन् । त्यस्तै जोनी बेयरस्टोले २८ रनको योगदान दिए ।

भारतका लागि उमेश यादवले दुई विकेट लिए । उनले चार ओभरमा ३६ रन दिँदै दुई विकेट लिएका हुन् । त्यस्तै भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या तथा युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

तीन टी–२०, तीन एकदिवसीय र चार टेष्ट म्याचको श्रृङ्खलाका लागि भारतीय क्रिकेट टोली अहिले इंग्ल्याण्ड भ्रमणमा छ । तेस्रो टी–२० शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *