मृतककाे संख्या २० पुग्याे, १२ घाइतेकाे पाेखरामा उपचार हुँदै

काठमाडौं, असार २३ । मुस्ताङमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेकाे संखया २० पुगेकाे छ । १२  घाइते भएका छन् । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको बिरुवा कन्स्ट्रक्सनको बा२प २२१९ नम्बरको टिपर शुक्रबार दिउँसो लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङबोचेमा सडकबाट ५० मिटर तल खसेको हो ।

दिउँसो साढे १ बजे दुर्घटना भएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका सबैको सनाखत भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू रोल्पा र दाङका बढी छन् ।

यी हुन् अकालमै ज्यान गुमाउनेहरू
३० वर्षीय बालकुमार घर्ती (दाङ), २८ वर्षीय सुकमान रोका (रोल्पा), २३ वर्षीय चालक सुजन घलाङ (धादिङ), २० वर्षीय जीवन माझी (ओखलढुंगा), २२ वर्षीया विन्ती घर्ती (कैलाली), १९ वर्षीय महेश रोका (रोल्पा), ३९ वर्षीय कमानसिंह रोका (कपिलवस्तु), २९ वर्षीया वविता घर्तीमगर (दाङ), ३२ वर्षीय रामकुमार पुन (रोल्पा), ३५ वर्षीय सुबेर चौधरी (दाङ), २३ वर्षीया बिनिता घर्ती (कैलाली), ४३ वर्षीया शान्ति थापा (दाङ), ३२ वर्षीय सन्तु घर्ती (रोल्पा), २४ वर्षीय कृष्ण क्षेत्री (स्याङ्जा), २५ वर्षीय कमल बुढा (दाङ), ३१ वर्षीया जितमायाँ घर्ती (रोल्पा), २० वर्षीया सिर्जना मगर, २३ वर्षीया राष्ट्रे रोका, ५० वर्षीय गुरुदत्त थापा (दाङ) र ३३ वर्षीय जितकुमार पुन (रोल्पा) ।

१२ घाइतेलाई पोखरा  लगियाे
घाइते १२ जनालाई शुक्रबार साँझ हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । सुरुमा गम्भीर घाइते तीनजनालाई ल्याइएको थियो । त्यसपछि थप नौजनालाई पनि मणिपालमै ल्याइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

गण्डकी प्रहरी कार्यालयका अनुसार मणिपाल शिक्षण अस्पतालमा झापाका २३ वर्षीय दिपेश माझी, २३ वर्षीय नीरज पुन (दाङ), १९ वर्षीय विमल घर्ती (रोल्पा), ३९ वर्षीय कुमार पुन, ३९ वर्षीय सूर्यबहादु पुन, १६ वर्षीय सागर मगर (धादिङ), ३७ वर्षीय रिस्सा घर्ती (रोल्पा), १८ वर्षीय ईश्वर पुन, १७ वर्षीय रिसन घम, १९ वर्षीय श्याम बुढा (दाङ), १८ वर्षीय डिलक पुन (रोल्पा), ७ वर्षीय दीपक पुन (रोल्पा) छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

५ शव जोमसोम ल्याइयो, १५ शव दुर्घटनास्थलमै
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले घाइतेलाई उपचारका लागि पोखरा ल्याउँदा व्यस्त हुनुपर्ने भएपछि शुक्रबार साँझसम्म जम्मा पाँच शव मात्र सदरमुकाम ल्याउन सकिएको जानकारी दिए । ती शव जिल्ला अस्पताल जोमसोममा राखिएको छ । बाँकी शव शनिबार बिहान होलिकोप्टरबाटै जोमसोम ल्याइने उनले बताए । हेलिकोप्टर पोखरामा तयारी अवस्थामा राखिएको छ । जोमसोमबाट घटनास्थल ५० किलोमिटरको दूरीमा छ ।

सबै शवको पोस्टमार्टम पोखरामा गरिने
सबै शव पोखरा ल्याएर पोस्टमार्टम गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *