विश्वकप : ब्राजिल र बेल्जियमको भिडन्त, कस्ले मार्ला बाजी ?

काठमाडाैं, असार २२ ।  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पाँच पटकको विश्वविजेता ब्राजिलले बेल्जियमको सामना गर्दैछ । दक्षिण अमेरिकी देश ब्राजिल र युरोपेली प्रतिस्पर्धी बेल्जियमबिचको खेल प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ । दुवै टिममा स्टार खेलाडी रहेको र विश्वकपमा उनीहरुले अहिलेसम्म गरेका प्रदर्शनका आधारमा हेर्दा खेल रोमाञ्चक हुने पक्का छ ।

ब्राजिलका मिडफिल्डर कासेमिरो यसअघि दुईवटा पहेँलो कार्ड पाएकाकारण यो खेलमा मैदानमा हुने छैनन् । उनको ठाउँमा फर्नान्डिन्हो आउने प्रशिक्षक टिटेले बताएका छन् । तर अन्तिम १६ को खेलमा कम्मरको समस्याका कारण खेल्न नसकेका लेफ्ट ब्याक मार्सेलो भने बेल्जियमसँगको खेलकालागि फिट भएका छन् । डुग्लस कोस्टा पनि चोटमुक्त भएका छन् ।

बेल्जियमका एडनान जानुजाज यो खेलमा फिट हुने आश छ । टिमका अरु सबै खेलाडी भने फिट रहेको प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् । समूह चरणका सबै खेल जितेको बेल्जियम अन्तिम १६ को खेलमा भने समस्यामा परेको थियो । सुरुमा २–० ले पछि परेको बेल्जियमले जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेर आएको हो । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षमा पहिलो टिम हो ।

ब्राजिलभने पछिल्ला २५ खेलमा अपराजित छ । यो विश्वकपमा उसले आशगरिए अनुसार प्रदर्शन गरेको छैन । तर उसको प्रदर्शन उत्कृष्ट भन्न नमिल्ने पनि होइन ।  ब्राजिलका प्रशिक्षक टिटले यो खेल निकै उत्कृष्ट हुने बताएका छन् । दुवै टिम सुन्दर फुटबलका लागि चिनिएको र राम्रा खेलाडी रहेकाले आशावादी रहेको उनले बताएका छन् । बेल्जियमलाई उपाधि दाबेदारको रुपमा आफूले हेर्ने गरेको टिटेको भनाई छ ।
बेल्जियमका प्रशिक्षक मार्टिनेजले भने ब्राजिल निकै भव्य प्रतिस्पर्धी रहेकाले उनीहरुलाई रोक्नका लागि ठूलो शक्ति चाहिने बताएका छन् । डिफेन्समा विशेष ख्याल गर्नु पर्ने पनि उनले बताएका छन् । बेल्जियम मार्टिनेजको प्रशिक्षणमा पछिल्ला २३ खेलमा अपराजित रहेको छ ।

हेड टू हेड

ब्राजिल र बेल्जियमबिच अहिलेसम्म चार पटक भेट भएको छ । सन् १९६३ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भएको थियो । तर त्यसपछिका तीन खेलमा ब्राजिल विजयी भएको छ । विश्वकपमा भने यो दोस्रो भेट हो ।

सन् २००२ को विश्वकप फुटबलको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो । त्यो खेलमा दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरेर जित दिलाए । ब्राजिललगातार सातौँपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यसअघि दुईपटक मात्रै यो चरणमा पराजित भएको छ । सन् २००६ र २०१० मा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *